Connect with us
Kapilvast Forest

मधेशमा चार दिनमा थपियो १३ प्रतिशत रोपाइँ, पुग्यो ७० प्रतिशत

२०८२, २२ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं-

शुक्रबारदेखि वर्षा हुन थालेको मधेशमा किसानहरूले रोपाइँलाई तीव्रता दिएका छन् । मधेशको कृषि मन्त्रालय, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका अनुसार चार दिनमा १३ प्रतिशतले रोपाइँ बढेको छ ।

मधेशका आठ जिल्लामा मंगलबारसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको महाशाखाका कृषि अधिकृत अमर मण्डलले बताए । सबैभन्दा बढी पर्सामा ८५, बारामा ८३ प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम महोत्तरीमा ३९ प्रतिशत रोपाइँ भएको तथ्यांक छ । वर्षा हुनुअघि १६ साउनसम्म मधेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

‘बारा, पर्सामा गण्डक नहरबाट सिँचाइ सुविधासहित प्रदेशबाट स्यालो ट्युबेलको बजेट पनि बढी प्रवाह भएकाले रोपाइँ बढी भएको हो,’ मण्डलले भने, ‘धनुषा र महोत्तरीमा पछिल्लो वर्षाले खेत भिजे पनि रोपाइँका लागि खेत हिल्याउन किसानले पोखरी, बोरिङको पानी प्रयोग गरिरहेका छन् ।’ शुक्रबारसम्म ८५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान रहेको उनले बताए । मधेशमा तीन लाख ७२ हजार हेक्टरमा धानखेती हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आएर बस्दा गत शनिबारबाट देशभर वर्षा भइरहेको हो । यसअघि पहाडी क्षेत्रमा खण्डवृष्टि भइरहेकामा तराई मधेशमा सुक्खा थियो, जसकारण रोपाइँ हुन सकेको थिएन । तर, हाल वर्षाका कारण रोपाइँ भइरहेको हो भने चापाकलमा पानी आउन थालेपछि जनजीवन सहज बनेको छ । मंगलबार सिराहामा ७४.४ र बारामा ४२.४ मिलिमिटर वर्षा मापन भएको छ । मधेशसहित मध्य र पूर्वी नेपालमा सोमबारभन्दा मंगलबार कम वर्षा भएको हो ।

बिहीबारदेखि पूर्वकेन्द्रित वर्षा हुने
यसपटकको मनसुनको सक्रियता लम्बिने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार सोमबार र मंगलबार पश्चिमकेन्द्रित वर्षा भएकामा बिहीबारदेखि पूर्वकेन्द्रित वर्षा हुने देखिन्छ । ‘वर्षा त देशभर नै भइरहेको छ । तर, भारीदेखि धेरै भारी वर्षा भने बिहीबारबाट कोशी र बागमती क्षेत्रमा हुने देखिन्छ,’ उनले भने ।

मंगलबार दाङ, बाँके र बर्दियामा धेरै भारी वर्षा पनि मापन भएको छ । २४ घण्टामा दाङमा २३६, बाँकेमा २०६ र बर्दियामा १६९ मिलिमिटर वर्षा रेकर्ड भएको छ । पश्चिमकेन्द्रित वर्षाका कारण कर्णालीको रकुम पश्चिम, भेरीको डोल्पा र बबईको बर्दिया क्षेत्रमा पानीको बहाव सर्तकता तहभन्दा माथि पुगेको थियो ।

महाशाखाका अनुसार बुधबार रातिसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकेन्द्रित वर्षा हुनेछ । ‘अहिलेको मौसमी प्रणालीले आगामी तीन दिनमा झरी पर्ने देखिँदैन, दिनभरजसो बादल लागे पनि पानी पर्ने, रोकिने भइरहेको छ, हुन्छ,’ झाले भने, ‘यस्तो अवस्थामा हल्कादेखि मध्यम वर्षा देशभर नै हुने देखिन्छ ।’

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu