Connect with us
Kapilvast Forest

पहिले घुस ख्वाएर लाइसेन्स लिए, अहिले बिचल्ली

२०८२, २८ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौँ-

सिन्धुपाल्चोक ठूलो सिरुबारीका अनिल श्रेष्ठले २०७५ सालमा बिचौलियामार्फत ४० हजार रुपैयाँ दिएर कार, जिप, ट्रक, बस र लरीको लाइसेन्स निकालेका थिए ।उनले पाँच वर्षसम्म काठमाडौँ चक्रपथमा गोकर्णेश्वर यातायात चलाए । अहिले लाइसेन्स नवीकरण गर्न जाँदा ढड्डामा कुनै विवरण भेटिएन । बरू उनको लाइसेन्स नम्बर ७८०५५० हरिभक्त खत्रीले लिएको ‘ए’ र ‘बी’ वर्गको लाइसेन्स रहेछ । खत्रीले २०५९ कात्तिकमा लिएको लाइसेन्स श्रेष्ठलाई नामसारी गरिदिएका रहेछन्।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, लाइसेन्स नवीकरण नभएपछि श्रेष्ठ अहिले बेरोजगार छन् । लाइसेन्स निकाल्न पैसा दिएका बिचौलियालाई खोजिरहेका छन्। पैसा खुवाएरै नवीकरण गर्न सकिन्छ कि भनेर एकान्तकुना कार्यालयका बिचौलियालाई नभेटेको होइन तर ५० हजार रुपैयाँ लाग्छ भनेपछि पैसा दिन नसकेर उनी गाउँ फर्किए। परीक्षा दिएर नयाँ लाइसेन्स निकाल्नका लागि पनि २०८५ सालसम्म नमिल्ने भएपछि गाउँ फर्किनुको विकल्प नभएको उनले बताए।

श्रेष्ठ मात्र होइन, यस्ता समस्या लिएर यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुनामा वर्षमा सयौँ आउने गरेका छन् । परीक्षा नदिई घुस खुवाएर अरूको लाइसेन्स नम्बरमा आफ्नो लाइसेन्स लिएका नवीकरण गर्न जाँदा बिचल्लीमा पर्ने गरेका छन् । कर्मचारीको मिलेमतोमा बिचौलियाले विदेश गएर १० वर्षसम्म नफर्किएका, मृत्यु भएका वा दुई पटकसम्म नवीकरण गर्न नआएकाको लाइसेन्स नम्बर नामसारी गरिदिँदा समस्या भोग्नु परेको छ।

एकान्तकुना कार्यालयका अनुसार पाँचरसात वर्षअघिसम्म यातायात व्यवस्था विभागमा विदेश गएर नफर्किएका लाइसेन्सवाहक, मृत्यु भएका र लामो समय नवीकरण गर्न नआएकाको खोजी गर्न गोप्य रूपमा शाखा नै सञ्चालनमा थियो । त्यस्ता लाइसेन्सवाहक नभेटिए बाहिर बिचौलियासँग साँठगाँठ गरी अनिल श्रेष्ठ जस्ता युवालाई लाइसेन्स बिक्री गरिन्थ्यो । उनको जस्तै समस्या हुनेलाई अझै पनि पैसा असुल्ने काम रोकिएको छैन । ‘यातायात कार्यालयमा जाँदा अरूको लाइसेन्सको हो नवीकरण हुँदैन भन्यो तर फेरि बाहिरका मान्छेलाई बुझेको ५० हजार दिए हुन्छ भन्छन् , पैसा दिएर नवीकरण हुँदो रहेछ त , कानून भनेको हामी जस्ता मजदुर र पैसा नहुनेलाई त लाग्दो रहेछ नि’, उनले भने।

तर एकान्तकुना कार्यालयले भने हाल त्यस्तो प्रकारको नामसारी नगरिएको दाबी गरेको छ। एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले भने, ‘नामसारी गरिएको लाइसेन्स अझै पनि पैसा दिएपछि हुन्छ भन्ने भ्रम छरिएको रहेछ। बिचौलियाका हल्लाको पछि नलाग्न अनुरोध गर्छु । यो कार्यालयबाट यसरी नामसारी गर्ने काम पूर्ण रूपमा बन्द छ । हामीबाट हुँदैन, सम्भव छैन । त्यस्तो भेटिए कारबाही हुन् । ’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj