चक्रे मिलनको बयान : एमालेको सदस्य हुँ, समाजसेवामा हिँड्छु
काठमाडौं-
गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।उनीहरूको मुद्दा काठमाडौं जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलामा परेको छ । अहिले उनीहरूको बयान भइरहेको छ । उनीहरू पटके कसुरदार भएकाले अदालतमा मुद्दा दर्ता गरिएको हो ।
मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । यसको मुख्य व्यक्ति भनिएका चक्रेले भने आफूले गुण्डागर्दी नभई समाजसेवी भएको बयान दिएका छन् ।
हाल म नेकपा एमाले पार्टीको गोरखास्तरीय पार्टीको सदस्य भई पार्टीगत रुपमा नेपालको विभिन्न वडा क्षेत्रमा आयोजना हुने कार्यक्रम र सामाजिक सेवा विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आइरहेको छु ।विगत केही वर्ष अघिदेखि सक्रिय रुपमा सामाजिक सेवा र राजनितिक पार्टीमा आबद्ध भई समाजसेवी कार्यहरू गर्दै आउने क्रममा मेरो प्रस्तुत मुद्दामा मसँगै पक्राउ परी आएका साथी भाइहरूसँग चिनजान हुन पुगेको हो । पक्राउ परी आएका प्रतिवादीहरूमध्ये कतिलाई मैले नामले मात्र चिन्छु । निजहरू सबै जना मेरो नाम र मैले गरेको सामजिक कार्यहरू मन पराइ मेरो जन्म दिन मनाउन निजहरू आफैं उपस्थित हुन आएका थिए ।
मेरो जन्म श्रवाण महिनामा पर्ने हुँदा कतिपय मलाई पार्टीगत हिसाबले सहयोग र साथ दिने व्यक्तिहरूले मलाई श्रावण महिनाको सुरू हप्तादेखि नै विभिन्न स्थानहरूमा बोलाई निजहरू आफैंले केक काटेर शुभकामना दिने गरेको थिए ।मैले आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथी भाइहरूको मन राख्न भनी श्रावण महिनाको सुरुहप्ता देखि नै काठमाडौं, पोखरा, बुटवल र अन्य स्थानहरूमा समेत साथी भाइहरूको अनुरोधमा उपस्थित हुन गई आफ्नो जन्म दिन मनाउँदै आइरहेको थिएँ ।
यसरी विभिन्न स्थानहरूमा मलाई माया र साथ सहयोग गर्ने साथी भाइहरूले बोलाई केक काटी रमाइलो गराएको हुँदा मैले पनि सबै जनालाई साउन १५ गते बेलुकी महाराजगञ्जस्थित होटल साम्बालामा उपस्थित हुन आउनु भनी निमन्त्रणा दिएको हुँ ।मैले महाराजगञ्जस्थित होटल साम्बालाको ग्राउण्ड फ्लोर र माथिको रुफ टप बुकिङ गरी राखेको थिएँ । १५ महराजगञ्जस्थित होटल साम्बालामा मलाई साथ सहोग गर्ने मेरो निमन्त्रणा सुनी जन्म दिन मनाउन आएका व्यक्तिहरू सबै जना बेलुकीको समयमा होटलको ग्राउण्ड फ्लोरमा भेला जम्मा भई सबै जना सँगै बसेर ग्राउण्ड फ्लोरमा खाना खाई रातको १२ बजे भन्दा अघि नै केक काट्ने कुरा भएको थियो ।
केक काट्नको लागि हामीहरू सबै जना होटलको रुफ टपमा गई राती साढे ११ बजेको समयमा सबै जनाले माया गरी लिएर आएका केकहरू मैले पालै पालो काटी सबै जनालाई खुवाइ सबै जना मिलेर नाँच्दै गाउँदै रमाईलो गरी बसिरहेका थियौं ।सोही समयमा हामी रमाईलो गरी बसिरहेको स्थानमा एक्कासी ड्यूटीमा खटिएका प्रहरी आई हामीहरू सबै जनालाई रातभर किन हो हल्ला गरेको भनी सम्झाई–बुझाई गर्न आउँदा हामीहरूमध्ये केही भाइहरूको प्रहरीसँग सामान्य भनाभान मात्र हुन पुगेको थियो ।
तर हामीले प्रतिवेदनमा उल्लेखित कुनै किसिमको अभद्रजन्य कार्य गरेको छैन, थिएन । प्रतिवेदनमा उल्लेखित धारिलो तथा जोखिमी हतियारहरू प्रदर्शन गर्ने, सार्वजनिक स्थान, सडक, बाटो नै अवरोध हुने गरी स्थानिय व्यक्तिहरूलाई गाली गलौज गर्ने, डर धाक धम्की दिने लगायतको कार्य मबाट भए गरेको छैन ।
मलाई देखाइएका प्रतिवेदन साथ पेश भएको भिडियो तथा फोटोहरू उक्त वारदात भन्दा अघिल्लो दिनहरूमा अन्य भाइहरूको निमन्त्रणामा म आफैं आफ्नो जन्म दिनको केक काट्न जाँदाको फोटाहरू हुन् ।हामीले सार्वजनिक स्थानमा भेला जम्मा भई केक मात्र काटी रमाइलो गरेका थियौं । तर धारिलो हतियार प्रदर्शन गर्ने, सार्वजनिक आवगमनमा नै अवरोध खडा गर्ने जस्ता कार्यहरू गरेको थिएन, छैन । यसरी ठूला संख्यामा युवाहरूलाई भेला जम्मा गरी आफ्नो जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु नै मेरो गल्ती भयो ।