Connect with us
Kapilvast Forest

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

२०८२, ३१ श्रावण शुक्रबारमा प्रकाशित

सुदूरपश्चिम-

भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ । यहाँ भगवान् शिवले लामो समय बसोबास गरेको धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिए ।

हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन्।यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन् । समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन् ।
खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ । यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने पुजारी पाध्यायले उल्लेख गरे।सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भएपनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने उनले विश्वास व्यक्त गरे ।

धार्मिक र पर्यटकीय दृष्टिले यो क्षेत्रको महत्त्व बढी भएपनि पूर्वाधार जुटाउने विषयमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो भक्तजनको छ । स्तरीय बाटो, खानेपानी र शौचालयको अभाव, धर्मशाला एवं बासस्थानको कमीले तीर्थालुलाई कठिनाइ हुने बताइएको छ।सुरक्षित पैदल मार्ग बन्न नसकेका कारण बाटोमा चिप्लियर दर्शनार्थीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पैदल हिँड्ने क्रममा चिप्लिएर कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले मन्त्रालयले बडिमालिकाका लागि चालु वर्षमा शौचालयसहितको अतिथि गृह र विश्रमगृह निर्माण गर्ने योजना बनाएको बताए ।उनले भने, ‘प्रदेश सरकारले यो क्षेत्रमा पूर्वाधार जुटाउनमा साधनस्रोतले भ्याएसम्म काम गरिरहेको छ’, उनले भने, ‘यहाँ पुग्न कतिपय ठाउँमा पदमार्ग निर्माण भइसकेका छन्, भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण बजेट विनियोजन गरिएपनि अहिले काम भएको छैन।’आगामी वर्ष एसियाली विकास बैङ्कको सहयोगमा यो क्षेत्रमा थप पूर्वाधारहरू विस्तार गर्नका लागि पहल भइरहेको प्रमुख बोहराले जानकारी दिए । उच्च भूभाग भएकाले अक्सिजनको कमीले ‘लेक लागेर’ बेहोस हुने समस्या पनि कतिपय तीर्थयात्रुले झेल्नु परेको उनको भनाइ छ ।

करिब ४५ हजार दर्शनार्थीद्वारा पूजा

यो वर्ष लागेको मेलामा ४५ हजार बढी भक्तजनले बडिमालिका माताको पूजा तथा दर्शन गरेका छन् । नेपाल स्काउट, सुदूरपश्चिम प्रदेशका प्रमुख आयुक्त नरेन्द्र थापाले बडिमालिकामा यस वर्ष यही साउन १४ गतेदेखि सुरु भएको नवाह यज्ञ सहितको मेला साउन २३ गते मुख्य पूजा गरेर समापन भएको बताउँदै करिब ४५ हजारले दर्शन गरेका जानकारी दिए ।थापाले भने, ‘आफू पनि मेला अवधिभर बडिमालिकामा थिएँ, मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन भए पनि यस वर्ष नेपाली सेनामार्फत् बडिमालिका मन्दिरको जीर्णोद्धार गरिएको अवसरमा साउन १४ गतेदेखि नवाह लगाएर पूजा सुरु भएको थियो।’ उनका अनुसार जीर्ण बनेको परम्परागत मन्दिरलाई करिब रु दुई करोडको लगानीमा नेपाली सेनाले नयाँ शैलीको कलात्मक बडिमालिकाको मन्दिरको रूपमा जीर्णोद्धार गरेको हो।

मन्दिरको जीर्णोद्धार गरिएकाले नौ दिनसम्म नौ ब्राह्मणद्वारा दैनिक पूजाआजासहित शुद्धाशुद्धिका लागि नवाह गरिएको थापाले जानकारी दिए । विगतका वर्षहरूमा जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन चतुर्दर्शीका दिन मात्रै यहाँ पूजासहितको मेला लाग्ने गरेको थियो ।यसवर्षको मेलामा पनि देशका विभिन्न जिल्लासहित छिमेकी देश भारतबाटसमेत दर्शनार्थीहरू पूजा तथा दर्शनका लागि आएका बडिमालिकाका पुजारी पाध्यायले जानकारी दिए। उनले भने, ‘बडिमालिका धार्मिक आस्थाको अपूर्व सङ्गम हो । यहाँ प्रत्येक वर्ष लाग्ने मेलामा बाजुरा, डोटी र जुम्ला र कालिकोटबाट पूजा सामग्रीसहित सरकारी टोली आउने परम्परा छ।’

मन्दिर परिसरमा परम्परागत बाजागाजासहित सास्कृतिक प्रदर्शन र भक्तजनको उत्साहपूर्ण सहभागिताले वातावरणलाई थप जीवन्त बनाएको यहाँ पुग्नुभएका पत्रकार पदमबहादुर सिंहले बताए ।जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने गरेपनि अन्य समयमा पनि पर्यटक यहाँ आउने गर्दछन्। बडिमालिका माताको दर्शन र पूजा गर्नाले मनोकामना पूरा हुने, रोगव्याधी निको हुने, निसन्तानलाई सन्तान प्राप्ति हुने जनविश्वास रहिआएको पुजारी पाध्यायले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu