अनलाइनबाट ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । अनलाइनको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल ह्वाट्स ऐपमा अमेरिकाबाट आइफोन, ल्यापटप, मोवाइल, क्यामरा, घडी, श्रृङगारलगायतका सामानहरु सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरेको अभियोगमा दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भक्तपुर कौशलटार बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भएका २२ वर्षीय अमिर थापा र भक्तपुर कमलबिनायक बस्ने २४ वर्षीय अमन अवाल रहेका छन् ।
अनलाइनबाट विज्ञापन गरी ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले एक महिनाको समयावधिमा ८ लाख रुपैयाँ भन्दाबढी रकम ठगी गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।