जेलेन्स्कीले ट्रम्पसँगको भेटमा परम्परागत क्यामो-ग्रीनको सट्टा एक कालो सैनिक-शैलीको सुट लगाएका थिए ।
यो उनको आफ्नो सशस्त्र पहिरनसम्बन्धी पहिचान कायम राख्दै अमेरिकाले गरेको औपचारिकताको अपेक्षालाई पनि सम्बोधन गर्ने प्रयास थियो।
गत फेब्रुअरीमा २८ मा ह्वाइटहाउसमा भएको तनावपूर्ण बैठकमा ट्रम्पले जेलेन्स्कीको पहिरनको आलोचना गरेका थिए। त्यसपछि ह्वाइटहाउसले यो भेटमा जेलेन्स्कीलाई सुट लगाउन अनुरोध गरेको थियो ।
सोमबारको भेटका क्रममा केही अनौपचारिक क्षण देखिए । त्यहाँ सञ्चारकर्मी ब्रायन ग्लेनले जेलेन्स्कीले लगाएको सुटको तारिफ गरे र भने- ‘प्रेसिडेन्ट जेलेन्स्की, यूलुक फ्याबुलस इन द्याट सूट’ । ट्रम्पले पनि तुरुन्तै समर्थन गर्दै भने- ‘मैले पनि त्यस्तै भनेँ’ ।’
ग्लेनलाई देखाउँदै राष्ट्रपति ट्रम्पले थपे- उहाँले नै तपाईंको पहिले पनि आलोचना गर्नुभएको थियो।’
जेलेन्स्कीले पनि हाँस्दै ग्लेनलाई जवाफ दिए- तपाईंले फेब्रुअरीमै लगाउनु भएको सुट लगाउनु भएको छ । मैले परिवर्तन गरेँ,तपाईंले गर्नुभएन ।’ यो रोचक छोटो संवादको भिडियो क्लिप अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा भाइरल भएको छ ।
भेटका क्रममा जेलेन्स्कीले आफ्नी पत्नी प्रथम महिला ओलेना जेलेन्स्काले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई धन्यवाद सन्देश समावेश गरिएको पत्र हस्तान्तरण गरे । पत्रमा युद्धका कारण प्रभावित यूक्रेनी बालबालिकाको हितमा मेलानियाको पूर्व सक्रियताप्रति कृतज्ञता व्यक्त गरिएको छ ।
बैठकमा यूरोपेली संघ, जर्मनी, फ्रान्स, बेलायत, इटाली, फिनल्याण्ड, र नाटो लगायतका उच्चस्तरीय प्रतिनिधिहरू सहभागी थिए ।