मुस्लिम वडाअध्यक्षको पहलमा हिन्दु नारीका लागि तीजमिलन कार्यक्रम
न्युज सेन्टर नेपाल
-कपिलवस्तु- शिवराज नगरपालिका–४ का वडा अध्यक्ष नसिम अहमद खानले हिन्दु नारीहरूको लागि भव्य तीज मिलन कार्यक्रम आयोजना गरी धार्मिक सद्भाव र सामाजिक एकताको अनौठो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रम शिवराज–४ स्थित बनकटी मन्दिर परिसरमा सम्पन्न भएको हो । स्थानीय महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा सहभागीहरूले रमाइलो वातावरणमा नाचगान गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।
अध्यक्ष खानले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “हामी अनेकतामा एकता हो । एक–अर्काको धर्म, संस्कार र पर्वलाई सम्मान गर्नु नै सामाजिक सद्भाव र सहअस्तित्वको आधार हो ।”
महिला सहभागीहरूले यसलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा लिएका छन् ।
तीज पर्वको अवसरमा मुस्लिम समुदायका जनप्रतिनिधिबाट गरिएको यो पहललाई स्थानीय स्तरमा सकारात्मक कदमका रूपमा लिइएको छ ।