अबको १० दिनभित्र युरिया मल नेपाल आइपुग्ने : कृषि मन्त्री अधिकारी
सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल नेपाल आइपुग्ने दाबी गर्नुभएको छ । उहाँका अनुसार नेपाललाई प्राप्त हुने युरिया मल भारतको कोलकातामा भइसकेको छ र आवश्यक प्रक्रिया पूरा भएपछि १० दिनमै नेपाल ल्याइनेछ ।
मन्त्री अधिकारी कपिलवस्तु जिल्लाको चन्द्रौटामा नेपाली कांग्रेस जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामको निवासमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै किसानलाई ढुक्क पार्ने आश्वासन दिनुभएको छ ।
मन्त्री अधिकारीले जिल्लामा उपलब्ध खेतयोग्य जमिन र उत्पादनको आधारमा मल वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले कपिलवस्तु जस्तो उपजाउ क्षेत्रमा उत्पादन वृद्धि गर्न प्रदेश सरकार र स्थानीय तहले बढी मल ल्याउनका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
“मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभाग खेती गर्ने किसानले मल अभावका कारण उत्पादनमा घाटा बेहोर्नु नपरोस् भन्ने हाम्रो प्रयास छ,” मन्त्री अधिकारीको भनाइ छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलामले जिल्लाका किसान मल अभावकै कारण चिन्तित रहेको उल्लेख गर्दै सरकारलाई चाँडो मल ल्याउन आग्रह गर्नुभयो ।
“खेती गर्ने समयमै मल नपाउँदा उत्पादनमा ठुलो गिरावट आउँछ । किसानहरूले पटक–पटक माग्दा पनि कुनै सुनुवाइ भएन । अहिले खेतमा रोपाइँ सकिएर बोट फुल्न थालेको छ, तर आवश्यक मल अभावमा उत्पादन घट्ने डर छ,” मेयर कलामले भन्नुभयो ।
भेटघाटमा सहभागी स्थानीय किसानहरूले पनि सरकारको ढिलासुस्तीले आफूहरूलाई ठुलो नोक्सान हुने गुनासो गरे । किसानहरूले बजारमा पाइने मल महँगो छ, सरकारी मल वितरण प्रणाली ढिलो हुने र समयमा मल नपाउँदा खेतीमा लगानी नै डुब्ने स्थिति छ ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले कृषकलाई तत्काल मल, बिउ लगायतका सामग्री उपलब्ध गराउनुपर्ने माग राख्नुभयो । उहाँले किसान उत्पादनमा निर्भर हुने भएकाले मल अभावलाई सामान्य समस्या ठान्न नहुने बताउनुभयो ।
यसअघि पनि सरकार समयमै मल ल्याउन नसकेको भन्दै किसानहरूको आलोचना खेप्दै आएको छ । हरेक वर्ष मौसमी खेती सुरु हुने बेला मल अभाव हुने परम्परा बनेको भन्दै किसानहरूले सरकारलाई योजनाबद्ध ढंगले काम नगरेको आरोप लगाएका छन ।
कपिलवस्तु लगायत तराईका जिल्लामा धान, गहुँ, मकैलगायतका मुख्य अन्नबालीमा मल अभावका कारण उत्पादनमा गिरावट आउने डर बढ्दै गएको छ । कृषक संघसंस्था र स्थानीय निकायहरूले पटक–पटक ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको किसानहरूको आरोप छ ।