कपिलवस्तुमा छठ पर्वको तयारी तीव्र, ६५ स्थानमा मनाईदै
पुनहरी घिमिरे ,कपिलवस्तु –
कपिलवस्तुमा सूर्य उपासना तथा आस्थाको महान पर्व छठ भव्य रूपमा मनाउन तयारी तीव्र बनेको छ। जिल्लाभरका ६५ वटा स्थानमा यस वर्ष छठ पर्व मनाउनका लागि तयारी पूरा गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार नदी, नाला, तलाउ र पोखरीमा बेदी निर्माण कार्य सम्पन्न भएको छ। छठ व्रतालुहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न विशेष सुरक्षा व्यवस्था मिलाइएको छ।
उनका अनुसार छठ पर्वका बेला कुनै पनि अप्रिय घटना हुन नदिनका लागि ४०० भन्दा बढी प्रहरी सहित गोताखोर टोली समेत परिचालन गरिनेछ। प्रहरीले स्थानीय तह र स्वयंसेवी संगठनसँग सहकार्य गर्दै सुरक्षात्मक तथा व्यवस्थापनको तयारी अघि बढाएको जनाएको छ।
छठ पर्वका क्रममा सूर्यलाई अर्घ्य दिई मनाइने यो पर्वले धार्मिक आस्था, अनुशासन र सामाजिक एकताको प्रतीकका रूपमा कपिलवस्तुमा पनि विशेष महत्व पाएको छ।
