कपिलवस्तुको चन्द्रौटामा राष्ट्रिय जनमोर्चाको सभा
कपिलवस्तु-
“राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता खारेज गरौँ” भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले कपिलवस्तुको चन्द्रौटा बजारमा प्रचारात्मक सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चा कपिलवस्तु जिल्ला अध्यक्ष रामप्रसाद बेल्बासेले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले मुलुकको सम्प्रभुता, राष्ट्रियता र निर्भरतामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाउनुभयो । उहाँले “देश अहिले नेपाली जनता र पार्टीहरूको हातमा नरहेको” दाबी गर्दै जेएनजी आन्दोलनलाई वैदेशिक शक्ति केन्द्र तथा एनजीओ–आइएनजीओहरूले आफूखुसी उपयोग गरेपछि देश र राजनीतिक दलहरू कमजोर बनेको बताउनुभयो ।
रेग्मीले असंवैधानिक तरिकाले शुसिला कार्की नेतृत्वको सरकार गठन गरिनु, पार्टीहरू विघटन हुँदै जानु र राष्ट्रियतामाथि खतरा बढ्नु यी सबै बाह्य हस्तक्षेपको परिणाम भएको टिप्पणी गर्नुभयो । उहाँले जनताले वास्तविकता नबुझ्दा आजको अवस्था सिर्जना भएको जनाउँदै अब पनि सचेत नभए देश नै संकटमा पर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेकपा मसालका जिल्ला प्रवक्ता माधव भट्ट क्षत्रीले राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, गणतन्त्रको रक्षा तथा संघीयता र एमसिसी खारेजीका लागि निरन्तर संघर्ष गर्दै आएको बताउनुभयो । उहाँले विदेशी प्रभाव बढ्दै जाँदा राष्ट्र कमजोर बन्न पुगेको उल्लेख गर्दै यसको मुख्य कारण जनतामा जागरण नआएकै हो भने बताए ।
कार्यक्रममा अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेलको आतिथ्यता रहेको थियो । रक्तिम सांस्कृतिक अभियानले देशभक्तिपूर्ण गीत, नृत्य र ‘सुक्दैन सालयको बोट’ शीर्षकको रक्तिम गीत प्रस्तुति गरेको थियो ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत तथा सम्मान राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष तथा राजमो शिवराज नगर समितिका अध्यक्ष केर सिंह पुन मगरले गर्नुभएको थियो । सोही कार्यक्रम सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केर सिंह अदैले गर्नुभयो ।