Connect with us
Kapilvast Forest

महिला प्रधानाध्यापकहरूले धानेको विजयनगरको शिक्षा

२०८२, २७ मंसिर शुक्रबारमा प्रकाशित

न्युजसेन्टर नेपाल, कपिलवस्तु-

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ मा रहेका पाँचवटै सामुदायिक विद्यालयमा महिला प्रधानाध्यापकहरूको नेतृत्व रहेको छ । महिला नेतृत्वमा विद्यालय सञ्चालन हुनु आफैँमा प्रेरणादायी विषय बनेको छ भने यसले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेको स्थानीयको भनाइ छ ।

वडामा जनज्योति माध्यमिक विद्यालय देउपुरा–शंकरपुर, रामनारायण मोहम्मद युसुफ आधारभूत विद्यालय बरगदी, ज्योति बाल शिक्षा आधारभूत विद्यालय ज्योतिनगर, सचेतना आधारभूत विद्यालय इमिलिखर्क, र महाकाली आधारभूत विद्यालय बेतनी गरी पाँच विद्यालय रहेका छन् । संयोगजस्तै देखिए पनि पाँचै विद्यालयमा महिलाहरूले नेतृत्व सम्हालेका छन् ।

विजयनगर गाउँपालिका–४ मा महिला प्रधानाध्यापकहरूको प्रभावकारी नेतृत्वले शिक्षा क्षेत्रमा उज्यालो उदाहरण प्रस्तुत गरेको छ । यसले महिलाको क्षमता, समर्पण र नेतृत्व क्षमतामाथि स्थानीय समुदायमा थप विश्वास पैदा गरेको देखिन्छ ।

जनज्योति माध्यमिक विद्यालयमा पम्फा कुमारी पाण्डे,
रामनारायण मोहम्मद युसुफ आधारभूत विद्यालयमा सम्झाना गौतम,
ज्योति बाल शिक्षा आधारभूत विद्यालयमा सपना काफ्ले,
सचेतना आधारभूत विद्यालयमा गोमा खड्का,
र महाकाली आधारभूत विद्यालयमा सुमित्रा अधिकारी कार्यरत छन् ।

पम्फा कुमारी पाण्डे (जनज्योति माध्यमिक विद्यालय)
“विद्यालयलाई अनुशासित र सिकाइमैत्री बनाउन हामी निरन्तर
प्रयासरत छौँ । महिला भएर नेतृत्व गर्न पाउँदा थप जिम्मेवारी र प्रेरणा मिलेको छ । अभिभावक र समुदायको सहयोगले हामीलाई अझ हौसला मिलेको छ,” पाण्डेले बताउनुभयो ।

सम्झाना गौतम (रामनारायण मोहम्मद युसुफ आधारभूत विद्यालय)
“विद्यार्थीको आधारभूत सिकाइ स्तर बढाउनु नै हाम्रो प्राथमिकता हो । नियमित अभिभावक भेटघाट र स्थानीय तहसँगको समन्वयले शिक्षाको गुणस्तर बढाउन धेरै सहयोग मिलेको छ,” गौतमको भनाइ छ ।

सपना काफ्ले (ज्योति बाल शिक्षा आधारभूत विद्यालय)
“महिलाले घर मात्र होइन, विद्यालय जस्तो संस्थालाई पनि प्रभावकारी रूपमा अगाडि बढाउन सक्छन् भन्ने प्रमाण दिन चाहन्छौँ । बालमैत्री वातावरण निर्माणमा जुटिरहेका छौँ,” काफ्लेले बताउनुभयो ।

गोमा खड्का (सचेतना आधारभूत विद्यालय)
“वातावरणमैत्री, समावेशी र अनुशासित पठन–पाठन हाम्रो लक्ष्य हो । महिला नेतृत्वका विद्यालयमा सहकार्य सहज देखिन्छ, समुदायको साथले हाम्रा कामहरू अझ प्रभावकारी भएका छन्,” खड्काले बताउनुभयो ।

सुमित्रा अधिकारी (महाकाली आधारभूत विद्यालय)
“विद्यार्थी, अभिभावक र शिक्षकको त्रिपक्षीय समन्वय बिना शिक्षा सुधार सम्भव छैन । महिला भएकै कारण संवाद र मनोभावना बुझेर काम गर्न सहज भएको छ,” अधिकारीले बताउनुभयो ।

स्थानीय तहको धारणा

वडा नम्बर ४ का अध्यक्ष तिलक कडेलका अनुसार महिला प्रधानाध्यापकहरूले विद्यालय सुधारमा अतुलनीय योगदान पुर्‍याइरहेका छन् ।
“नियमित उपस्थिति, अनुशासन र प्रभावकारी समन्वयमा महिलाहरू उत्कृष्ट छन् । उहाँहरूको नेतृत्वले वडाभर शिक्षाको गुणस्तरमा सकारात्मक परिवर्तन आएको छ,” अध्यक्ष कडेलले भन्नुभयो ।

विजयनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले पाँचै प्रधानाध्यापकलाई शाखाबाट उपलब्ध हुने सेवासुविधा नियमित रूपमा प्रदान हुँदै आएको जानकारी दिनुभयो ।
“महिला भएकै कारण कुनै भेदभाव भएको छैन । नियमअनुसार आएका हरेक फाइललाई समान रूपमा अघि बढाइन्छ,” उहाँले बताउनुभयो ।
उहाँहरुले राम्रो काम गरिरहेको शिक्षा शाखा प्रमुख बेल्बासेको भनाइ छ ।

अभिभावक खेलावन यादवका अनुसार महिला प्रधानाध्यापकहरूले विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई अझ सहज बनाएका छन् ।
“महिला भएकै कारण संवाद सहज छ । विद्यार्थीको मनोभावना बुझेर शिक्षा दिनुहुन्छ । त्यसैले गुणस्तर पनि राम्रो देखिएको छ,” यादवले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj