चुनावको मुखमा कांग्रेसमा फेरि चर्कियो विवाद
आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण शक्तिसहित एक भएर होमिने वेला कांग्रेसभित्र विशेष महाधिवेशनको मुद्दा चर्किएको छ । १५औँ महाधिवेशन अनिश्चित भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको गृहकार्यमा जुटेका छन् । जबकि संस्थापन पक्षका नेताले भने २६–२८ पुसका लागि तोकिएको नियमित महाधिवेशनको कार्यतालिका हेरफेर हुने बताएका छन् ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत २९ असोजमा कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरे ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ । सो अवधिभित्र महाधिवेशन सम्पन्न गर्ने गरी १५ मंसिरमा केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका ल्याएको थियो । तर, क्रियाशील सदस्यताको विषय नै नटुंगिएपछि बुधबारका लागि तय वडा अधिवेशन हुन सकेन । इतरपक्ष पुसभित्रै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरणको अडान छ । विशेष महाधिवेशन पक्षधर प्रतिनिधिले महामन्त्री थापा र शर्मालाई दबाब बताएपछि विशेष महाधिवेशनको तयारी गरेका हुन् । महामन्त्री थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अघि बढेको बताएका छन् । दृढतापूर्वक विशेष महाधिवेशनको मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन उनले आह्वानसमेत गरेका छन् ।
राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगीन जिम्मेवारी भएको उनको भनाइ छ । ‘अत: हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ ४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुधबार सन्देश जारी गर्दै थापाले भनेका छन् ।
कांग्रेसले राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासका लागि पनि महाधिवेशन अपरिहार्य भएको थापाले दाबी गरेका छन् । ‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ । यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता केबाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ,’ महामन्त्री थापाले भनेका छन्, ‘त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानत: बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’
केन्द्रीय सदस्य प्रकाश स्नेहीले वैधानिक व्यवस्थाअनुसार विशेष महाधिवेशन हुने दाबी गरे । ‘महामन्त्रीले पनि विशेष महाधिवेशन बोलाउन सक्नुहुन्छ, त्यसको अब विकल्प छैन,’ स्नेहीले भने, ‘विधानविपरीत जाने अधिकार कसैलाई पनि छैन, अब विशेष महाधिवेशन हुन्छ ।’ विशेष महाधिवेशन हुँदा १४औँ महाधिवेशनकै प्रतिनिधि सहभागी हुन्छन् । क्रियाशील सदस्यताको कारण नभई नियतका कारण नियमित महाधिवेशन तोकिएको मितिमा हुने अवस्था नभएको उनको दाबी छ । ‘क्रियाशील सदस्यताको कारण महाधिवेशन नहुने स्थिति बनेको होइन । यो पालि ७५ प्रतिशत नवीकरण भइसकेको छ । दुई लाखले नयाँ सदस्यता लिइसकेका छन् । नियतवश केही जिल्लामा होल्ड राखिएको छ,’ उनले भने, ‘नियत नै महाधिवेशन नगर्ने भएपछि के गर्ने ? पार्टीको विधान निर्वाचन आयोग र अदालतको विषय पनि भएको भन्दै उनले विधानविपरीत जाने छुट कसैलाई पनि नभएको बताए ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको अर्को तालिका आउने बताए । विशेष महाधिवेशन नहुने उनको दाबी छ । ‘कार्यसम्पादन समितिमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको छ । छिट्टै नयाँ कार्यतालिका आउँछ । विशेष महाधिवेशन हुने सम्भावना नै छैन,’ महतले भने, ‘सदस्यता नै नटुंगिएपछि महाधिवेशन प्रभावित भएको जगजाहेरै छ । काम नगर्ने अनि बाहिर–बाहिर हल्ला गरेर हुँदैन । नयाँ कार्यतालिका बनाएर जान्छौँ ।’
इतरसमूहका नेता मानिने डा. शेखर कोइरालाले भने विवाद, मतभिन्नता र व्यक्तिगत महŒवाकांक्षा समाप्त गरेर आसन्न निर्वाचनमा होमिनुको विकल्प नभएको बताए । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बुधबार सन्देश जारी गर्दै कोइरालाले राजनीतिक परिदृश्यमा उदाएका नयाँ चुनौतीको सामना गर्न एकताको विकल्प नभएकोमा जोड दिएका छन् । ‘बिपीले राष्ट्रको अस्तित्व खतरासामु सम्भावित व्यक्तिगत खतरा नगन्य ठानेर जसरी ऐतिहासिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनुभएको थियो, त्यसरी नै आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा विवाद र व्यक्तिगत महŒवाकांक्षा समाप्त गरेर भावी निर्वाचनमा होमिनुको विकल्प छैन,’ कोइरालाले भनेका छन्, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौँ भने हामी भूमिकाविहीन हुने खतरा रहन्छ ।’