राष्ट्रिय सभा चुनावमा गठबन्धन बनाउन द्विपक्षीय छलफलमा ठुला तीन दल
१८ सिटका लागि ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा मुख्य तीन दल कांग्रेस, एमाले र नेकपा सघन संवादमा लागेका छन् । कांग्रेस–एमाले वा कांग्रेस–नेकपा वा एमाले–नेकपा सम्भावित गठबन्धन बनाउन सक्रिय बनेका हुन् ।राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले २३ पुसमा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ । राष्ट्रिय सभादेखि प्रतिनिधिसभासम्मै तालमेल गर्ने गरी कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच आन्तरिक छलफल चलिरहेको छ । राष्ट्रिय सभामा तालमेलमा कुरा मिले प्रतिनिधिसभामा पनि तालमेलको ढोका खुला राखेर अघि बढ्ने सोचमा तीनै शीर्ष नेता पुगेको स्रोत बताउँछ ।
तीन दल द्विपक्षीय छलफलमा झन् सक्रिय छन् । एमाले नेताहरूले कांग्रेससँग आधा–आधा सिट बाँडेर सहमति गर्न प्रस्ताव गरेका छन् । तर, कांग्रेसले ११ सिट लिएर बाँकी छाड्न सकिने बताएको एमालेका एक पदाधिकारीले बताए । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले मुख्य राजनीतिक दल कांग्रेस, एमाले र नेकपाबिच राष्ट्रिय सभामा सहकार्य गरेर जाने प्रस्ताव आएको पुष्टि गरे । तर, एमाले वा नेकपा कोसँग मिल्दा सहज हुन्छ, आन्तरिक छलफलका आधारमा एउटा निष्कर्षमा पुगिने उनले बताए । ‘मुख्य दलबिच सहकार्य गरेर जाऔँ भन्ने प्रस्ताव आएको छ । एमाले वा अरूसँग मिल्दा के–कति फाइदा हुन्छ, हामी छलफलकै चरणमा छौँ । केही दिनभित्रै एउटा निकर्षमा पुग्छौँ,’ उनले भने ।
नेकपा र एमालेबिचको पछिल्लो छलफल भने सिट बाँडफाँटै गरेर जाने तहमा नपुगेको नेताहरू बताउँछन् । गत बिहीबार एमाले महासचिव शंकर पोखरेल र नेकपा नेता वर्षमान पुनबिच छलफल भएको थियो ।एमाले सचिव पद्मा अर्यालले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेससँग सहकार्य गर्ने विषयमा सैद्धान्तिक सहमति जुटिसकेकाले त्यहीअनुसार छलफल चलिरहँदा पछिल्लो छलफलमा नेकपा पनि जोडिएको जानकारी दिइन् । ‘कांग्रेस र हामीबिच दुवै पक्षबाट सहकार्य गरेर जाने सैद्धान्तिक सहमति भइसकेको छ । बिहीबारबाट नेकपा पनि सहकार्यको छलफलमा जोडिएको छ । तर, कोसँग कसरी सहकार्य गर्ने केही पनि टुंगिएको छैन । अहिलेलाई मोटामोटी सैद्धान्तिक सहमति मात्र भएकाले ठोस प्रगतिका लागि समय लिन सक्छ,’ उनले भनिन् ।
नेकपाले कांग्रेस र एमालेसँग कुरा मिले सहकार्यको ढोका खुलै राखेर तयारी गरिरहेको नेता देव गुरुङले बताए । ‘अहिलेसम्म त एक्लाएक्लै लड्ने नै तयारी हो । तर, कुरा मिलेको खण्डमा तालमेलका लागि खुला राखेरै अगाडि बढिरहेका छौँ,’ गुरुङले भने ।
यस्तो छ राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुसमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ पुसमा दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेगरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नयाँ मतभार
राष्ट्रिय सभाको ११ माघमा हुने निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम भएका छन् । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । आयोगले प्रकाशन गरेको प्रारम्भिक मतदाता नामावलीमा प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा दुई हजार ४३ जना छन् ।
राष्ट्रिय जनगणना ०७८ को नतिजाबमोजिम राष्ट्रिय सभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेतको आधारमा राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ ।
यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ थियो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचनमण्डलको मतभारको व्यवस्था छ ।
साभार : नयाँपत्रिका