Connect with us
Kapilvast Forest

आमालाई मेडल लगाइदिँदै निमाले भनिन् – यो स्वर्ण पदक परिवार र प्रशिक्षकलाई समर्पित गर्न चाहन्छु

२०७६, १९ मंसिर बिहीबारमा प्रकाशित

१९ मंसिर, काठमाडौं -उसुमा लगातार दोस्रो स्वर्ण पदक जितेर कीर्तिमान बनाएकी निमा घर्ती मगरले आफूले पाएकाे मेडल आमालाई लगाइदिएकी छिन्। उनले आज बिहान भएकाे प्रतिस्पर्धामा उसुको नान्छ्वानमा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन्।’यो स्वर्ण मेरो परिवार र प्रशिक्षकप्रति समर्पित गर्न चाहन्छु,’ मेडल लिएपछि उनले भनिन्।आफूले सन् २०१६ मा भन्दा आज राम्रो प्रदर्शन गरेकाे भन्दै उनले सन्तुष्ट रहेकाे बताइन्।’अघिल्लोपटक स्वर्ण पदक जित्दा साग भारतमा भएको थियो। अहिले घरमै हुँदा परिवार पनि आएर हेर्नुभएको छ,’ उनले भनिन्, ‘एकदम खुसी लागिरहेको छ।’

तर, अन्य विधामा नतिजा ‘फेयर’ नहुँदा नराम्रो लागेको उनले बताइन्। ‘हिजो पनि भारतले स्वर्ण र नेपालले रजत पदक जित्नुपर्ने, तर श्रीलंकाले जित्यो। आज पनि त्यस्तै भयो,’ उनले भनिन्, ‘तयारी राम्रो भएको थियो। ६ महिना देखिको बन्द प्रशिक्षणमा थियौं। हामीले मानसिक रुपमा पनि राम्रो तयारी गरेका थियौं।’

‘उसुको म्याट अलि अगाडि आएको भए राम्रो हुन्थ्यो। अलि ढिला आए पनि ठिकै छ। हामीले सुरुमा अभ्यासको लागि राम्रो ठाउँ पनि पाएका थिएनौं। तर, पछि ठिकै भयो,’ उनले थपिन्।

 

निमाकी आमा मुना घर्ती मगरले छाेरीकाे सफलतामा धेरै खुसी लागेको बताइन्। ‘भित्र खुसी छ नि…,’ मुस्कुराउँदै उनले भनिन्, ‘आफ्नै देशमा भएर हेर्न पायौं खुसी लाग्यो।’

बुवा मन्सुर घर्ती मगर निमालाई चार वर्षको हुँदा रोल्पादेखि बोकेर ल्याएको सुनाए। ‘दु:ख गरेर हुर्काएको नि उसकाे आमा पसल गर्छ, म सामान बोक्ने बोलेरो पिक अप गाडी चलाउँछु,’ उनले भने, ‘सोचेको थिएन नि यस्तो कीर्तिमान बनाउँछ भन्ने, सुरक्षाको लागि खेल भनेर उसुमा नाम लेखाइदिएको थिएँ टिकथलीमा।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj