फास्ट ट्र्याककै जटिलमध्येको पुलको काम सम्पनन
काठमाडौं-
बहुप्रतीक्षित काठमाडौं–निजगढ दु्रतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत सबैभन्दा अग्लो पुल तयार भएको छ । मकवानपुरको लेनडाँडा क्षेत्रमा ८२ मिटर उचाइ र ३३९ मिटर लम्बाइ रहेको पुल निर्माण भएको हो । फास्ट ट्र्याक निर्माण गरिरहेको सेनाका अनुसार यो पुल एसियाकै जटिलमध्येको हो ।सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतले फास्ट ट्र्याकअन्तर्गतको सबैभन्दा अग्लो पुलको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न हुने चरणमा पुगेको र केही दिनमै उद्घाटन गरिने बताए । ‘फास्ट ट्र्याकअन्तर्गत सबैभन्दा अग्लो पुल करिब–करिब तयार भएको छ । निर्माणमा संलग्न गाडीहरू अहिले सोही पुलमाथि गुड्न थालेका छन् । अबको केही दिनभित्रै उद्घाटन गर्ने योजना छ । यो फास्ट ट्र्याक निर्माणअन्तर्गत अर्को ब्रेक थ्रु हो ।’
दुईतर्फ सुरुङमार्गलाई जोड्ने यो नेपालकै पहिलो र हालसम्मकै अग्लो पुल हो । छुट्टाछुट्टै दुई लेनमा निर्माण गरिएको पुलमा पिलर मात्रै १६ वटा हालिएका छन् । चिनियाँ कम्पनी पोली छङ्दा इन्जिनियरिङ कर्पोरेसनले यो पुल निर्माण गरेको हो । प्याकेज २ र ४ अन्तर्गत निर्माण हुँदै गरेको यसलाई एसियाकै नमुना पुलको रूपमा लिइएको छ ।
फास्ट ट्र्याकअन्तर्गत सबै गरी ८९ पुल निर्माण हुने भनिएका छन् । जसमध्ये नौ पुलको निर्माण कार्य पूरा भइसकेको छ । सेनाका अनुसार निर्माणाधीनमध्ये अधिकांश पुलको फाउन्डेसन कार्य सकिएको छ । ती पुलको अहिले सुपरस्ट्रक्चर निर्माणको काम चलिरहेको सहायक रथी बस्नेतले बताए ।
६ किमि सुरुङमार्ग निर्माण सम्पन्न
सेनाले फास्ट ट्र्याकअन्तर्गत सात सुरुङमार्ग निर्माण गर्दै छ । जसको कुल लम्बाइ १०.९०१ किमि छ । मंसिर मसान्तसम्मको प्रगति विवरणअनुसार ६.०७७ किमि सुरुङमार्गको निर्माण कार्य पूरा भइसकेको छ । यो कुल लम्बाइको ५५.७४ प्रतिशत हो । बाँकी ४.८२४ किमि सुरुङमार्ग निर्माण भने जारी छ । सुरुङमार्गको अधिकांश भाग पनि पोली छङ्दाले नै गर्दै आएको छ । बाँकी भागमा चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनले निर्माण गरिरहेको छ ।
सेनाका अनुसार निर्माणाधीनमध्ये महादेवटार खण्डको ३.३५५ किमि सुरुङमार्ग ब्रेक थ्रु हुने चरणमा पुगेको छ । मंसिर मसान्तसम्मको तथ्यांकअनुसार जसको कुलमध्ये ०.९६० किमि खण्ड मात्रै निर्माण हुन बाँकी छ । त्यस्तै, चन्द्राम भिरअन्तर्गतको २.२५० किमि सुरुङमार्गको दायाँ भागमा ०.३७० किमि र बायाँ भागमा ०.२६६ किमि प्रगति भएको छ । बाँकी देवीचौर, सिसौटार र मौरीभिर खण्डको सुरुङमा भने ट्र्याक खोल्ने कार्य हुँदै छ । जसको लम्बाइ क्रमशः १ किमि, ०.३९० किमि र ०.५९४ किमि छ । सैनिक सूचना अधिकारी बस्नेतले भने, ‘हालसम्म ६ किमिभन्दा धेरै सुरुङमार्ग निर्माण सम्पन्न भएका छन् । अब करिब साढे ४ किमि निर्माण गर्न बाँकी छ । काम धमाधम भइरहेको छ ।’
फास्ट ट्र्याकको कुल भौतिक प्रगति करिब ४५ प्रतिशत
७०.९७ किमि फास्ट ट्र्याकको छुट्टाछुट्टै १३ प्याकेजमा काम भइरहेको छ । कुल भौतिक प्रगति ४४.४३ प्रतिशत मात्रै छ । अर्थात् ५५.५७ प्रतिशत भाग बाँकी नै छ । जसले निर्धारित समयभित्रै निर्माण सकिनेमा आशंका छ । सेनाले निर्माणका लागि हालसम्म पाएको समय अब १५ महिना मात्रै अर्थात् ०८३ चैतसम्मको समय छ ।
सेनाले फास्ट ट्र्याक निर्माणको जिम्मा २१ वैशाख ०७४ मा पाएको थियो । दुई वर्ष डिपिआर(विस्तृत परियोजना प्रतिवेदन) विनै काम गर्यो । कोरियन कम्पनीले बनाएको डिपिआर १ भदौ ०७६ मा बल्ल स्वीकृत भयो । सेनाले सोही दिनलाई फास्ट ट्र्याक निर्माणको प्रस्थान विन्दु मान्दै आएको छ । सोही दिनबाट गणना गर्दा पनि सेना फास्ट ट्र्याकमा संलग्न भएको ६ वर्ष भइसकेको छ । यस अवधिमा फास्ट ट्र्याक निर्माणको भौतिक प्रगति प्रतिवर्ष ७.४०५ प्रतिशत मात्रै भएको देखिन्छ । बाँकी ५५.५७ प्रतिशत काम अबका १५ महिनामा पूरा गर्नु मुस्किल देखिन्छ । निर्धारित समयमै काम सक्ने हो भने सेनाले प्रतिमहिना ३.७० प्रतिशतले कामको रफ्तार बढाउनुपर्ने हुन्छ, जुन सम्भव देखिन्न ।
सहायक रथी राजाराम
बस्नेत, सूचना अधिकारी, सेना
फास्ट ट्र्याकअन्तर्गत सबैभन्दा आग्लो पुल करिब–करिब तयार भएको छ । निर्माणमा संलग्न गाडीहरू अहिले सोही पुलमाथि गुड्न थालेका छन् । अबको केही दिनभित्रै उद्घाटन गर्ने योजना छ । यो फास्ट ट्र्याक निर्माणअन्तर्गत अर्को ब्रेक थ्रु हो ।फास्ट ट्र्याक निर्माणका लागि कुल बजेट दुई खर्ब ११ अर्ब निर्धारण भएको छ । जसमध्ये ४५.२२ प्रतिशत अर्थात् ९५ अर्ब ४१ करोड ४२ लाख खर्च भइसकेको छ । सेनाका सूचना अधिकारी बस्नेतले फास्ट ट्र्याकको भौतिक प्रगति आशालाग्दो ढंगले वृद्धि भएको र निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको दाबी गरे । ‘मंसिर मसान्तसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४४.४३ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ४५.२२ प्रतिशत भएको छ । सबैभन्दा अप्ठ्यारो मानिएका काम सम्पन्न भएका छन् । कतिपय सम्पन्न हुने चरणमा छन् । त्यसैले निर्धारित समयमै निर्माण सक्ने गरी काम अघि बढेको छ,’ उनले भने ।
सरकारले चार वर्षभित्र काम सक्न भन्दै २१ वैशाख ०७४ मा फास्ट ट्र्याकको जिम्मा सेनालाई दिएको थियो । निर्धारित समयमा काम भएको भए फास्ट ट्र्याक ०७८ को वैशाखमा नै सकिन्थ्यो । डिपिआरमा विवाद, सुरुङ तथा पुल निर्माणमा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिमा ढिलाइलगायतका कारणले निर्माणले गति लिन सकेन । विवादकै कारण करिब दुई वर्ष त सेनाले डिपिआरविना काम गर्यो ।
१ भदौ ०७६ मा कोरियन कम्पनीले बनाएको डिपिआर स्वीकृत भयो । त्यसपछि मात्रै सेनाले डिपिआरअनुसार काम गर्देै आएको छ । सेनाले सम्झौता मिति पनि डिपिआर स्वीकृत भएको दिनलाई नै मानेको छ । त्यसवेला ५५.५ किमि सडक र ७१ वटा पुल निर्माणको लागत रकम एक खर्ब ७५ अर्ब १९ करोड लाग्ने भनिएको थियो । सात सुरुङ र १६ पुलको लागत रकम पनि यसैमा समेटिएको थियो । तर, निर्धारित समयभित्र फास्ट ट्र्याक निर्माण नभएपछि लागत रकम बढेर दुई खर्ब ११ अर्ब पुगेको छ ।
प्याकेज नम्बर ११ अन्तर्गत ६ किमिमा काम नै सुरु भएन
१३ प्याकेजमा काम भइरहेको फास्ट ट्र्याकमा प्याकेज १, २, ३, ४, ५, ६, ७, ८ (क), ८(ख), ९(क), ९(ख) र १० को काम निर्माणाधीन छ । तर, प्याकेज नम्बर ११ को काम सुरु नै भएको छैन । जसको लम्बाइ करिब ६ किमि छ । यो खण्ड ललितपुरस्थित खोकना–डुकुछाप क्षेत्रमा पर्छ । फास्ट ट्र्याकको प्रस्थानविन्दु मानिएको यो खण्डमा हालसम्म मुआब्जासमेत वितरण हुन सकेको छैन । रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले खोकना खण्डमा केही समस्या रहेको र त्यसलाई समाधान गर्न सरकार लागिरहेको बताए । ‘फास्ट ट्र्याकको काठमाडौंतर्फको प्रस्थानविन्दुमा केही समस्या देखिएका छन् । स्थानीयको माग सम्बोधन गर्ने प्रयत्न भइरहेका छन् । कतिपयले मुआब्जा लिइसकेका छन्, केहीको बाँकी छ,’ उनले भने ।
खोकनाका स्थानीयले फास्ट ट्र्याकको प्रस्थानविन्दु परिवर्तन गरिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले यस विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई समेत गत २६ जेठमा भेटेरै ज्ञापनपत्र बुझाएका थिए । फास्ट ट्र्याकको प्रस्तावित सुरुवाती विन्दुले खोकनाको परम्परागत सभ्यता र संस्कृति मासिने स्थानीयको दाबी छ । डुकुछापलाई प्रस्थानविन्दु बनाउन उनीहरूको प्रस्ताव छ । डुकुछाप हालको प्रस्तावित विन्दुभन्दा साढे पाँच किमि दक्षिणतर्फ पर्छ ।
साभार : नयाँपत्रिका