झापा ५ इलेक्सन ओली र बालेन मैदानमा उत्रिँदा गर्मायो झापाको चुनावी माहोल
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा ५ मा प्रधानमन्त्रीका दुई ‘फेस’ एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले शक्ति प्रदर्शनसहित मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । यसबाहेक थप २२ उम्मेदवार मैदानमा उत्रिएका छन् ।
निर्वाचन आयोगले तडकभडक नगर्न भने पनि दुवै दलले शक्ति प्रदर्शन गरे । बालेन आयोगको कार्यालयसम्मै बाजागाजासहित पुगे । एमालेले चोकमा शक्ति प्रदर्शन गरे पनि निर्वाचन अधिकृतको कार्यालयपरिसरमा केही शान्त देखियो । बालेनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि चाहेनन् ।
यो क्षेत्रमा दुई उम्मेदवारबिच तीव्र प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उनीसँग प्रतिस्पर्धाका लागि कांग्रेसका मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला, श्रम संस्कृति पार्टीका समीर तामाङलगायतका दल र नौ स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिएका छन् । झापा ५ मा एक लाख ६३ हजार ३७९ मतदाता छन्, जसमा नौ हजार ९० नयाँ मतदाता हुन् ।
एमाले र रास्वपा कार्यकर्ताबिच सामान्य झडप
दुवै दलले शक्ति प्रदर्शन गर्दा दमक चोकमा केही समय दुई पार्टीका कार्यकर्ताबिच हात हालाहालको अवस्था सिर्जना भयो । तर, केही समयमै अवस्था सामान्य भयो । बालेन निर्वाचन कार्यालयले तोकेको समयभन्दा केही ढिलो पुग्दा र कागजात मिलाउन समय लाग्दा दुवैतर्फका कार्यकर्ता चोकमा भेट हुन पुगेका थिए । रास्वपालाई ११ बजेको समय दिइएको थियो भने एमालेलाई १ बजेको समय दिइएको थियो । बालेनको मनोनयन सकिँदा झन्डै १ नै बजेपछि दुई पार्टीका कार्यकर्ता दमकस्थित अकासे पुलमा जम्काभेट हुन पुगेका थिए । जसले केही समय तनाव उत्पन्न भएको थियो ।
दुई पक्षको झडपको विषयमा बालेनले केही नबोले पनि एमाले अध्यक्ष ओलीले भने रास्वपाले अस्वस्थ प्रतिस्पर्धा गर्न खोजेको आरोप लगाए । ‘रास्वपाका तर्फबाट अस्वस्थ खालको क्रियापकलाप भयो, तर ठुलो होइन । उसले आफ्नो स्तर जाहेर गर्यो । अनैतिक काम गरे । असभ्यता देखाए,’ निर्वाचन अधिकृतकोे कार्यालयमा ओलीले पत्रकारसँग भने, ‘स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । त्यस्तो गर्नुहुँदैन । उनीहरूले एमालेलाई अवरोध गर्न खोजे । अरूलाई गर्न खोजेनन् ।’
पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन शान्तिपूर्ण र स्वस्थ हुनेमा पनि आंशका व्यक्त गरे । ‘धाँधलीरहित चुनाव हुन कठिन छ,’ उनले भने, ‘तर, धाँधलीरहित चुनाव गराउन हाम्रो उद्देश्य हो ।’ उनले देशभर एमालेको प्रतिस्पर्धी कोही नरहेको दाबी गरे । विगतमा कांग्रेस, माओवादी, समाजवादीलगायत दलले मोर्चाबन्दी गर्दासमेत एमालेले सामना गरेको उनको भनाइ छ । यो निर्वाचन देश जलाउने र बनाउनेबिचको प्रतिस्पर्धा भएको ओलीको टिप्पणी थियो । ‘देशमा आगो लगाउने र जोगाउनेबिचको प्रतिस्पर्धा हो । देश जलाउनेले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा भ्रम छ,’ उनले भने, ‘आगो लगाउनेहरूबाट, लोकतन्त्र खानेबाट, संविधान मिच्नेबाट, कार्यालय र व्यक्तिका घर जलाउनेहरूबाट देश बचाउनुपर्नेछ । देश बचाउन अनुभवी र दृढ नेतृत्व चाहिन्छ । यसका लागि उम्मेदवारी दिएको हुँ ।’
ओलीले झापा ५ मा कसैसँग प्रतिस्पर्धा नहुने दाबी गरे । ‘कसैसँग प्रतिस्पर्धा हुँदैन । कानुनी हिसाबले चुनावमा मनोनयन गरेका सबै प्रतिस्पर्धा गर्न उत्रिएका छन् । त्यो आफ्नो ठाउँमा होला । चुनावमा सबैले सहभागी हुन पाउँछ । विगतको भन्दा मतान्तर बढ्छ । दोब्बरले जित्छु,’ उनको दाबी छ, ‘देशभर एमालेको प्रतिस्पर्धी खास छैन । हाहु बेग्लै कुरा हो । कोही पनि देख्दिनँ ।’
एमाले झापा ५ निर्वाचन क्षेत्रीय कमिटीले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताले निर्वाचन कार्यालयले तोकेको सीमा तोडेर अध्यक्ष केपी ओलीलाई मनोनयन दर्ता गर्न अवरोध गर्ने उद्देश्यले आक्रमण गरेको दाबी गरेको छ ।
झापामा ५ निर्वाचन क्षेत्रका लागि ९० को उम्मेदवारी
झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दिएका छन् । सबैभन्दा धेरै क्षेत्र नम्बर ५ मा उम्मेदवारी परेको छ । यहाँ एमालेका ओली र रास्वपाका बालेन, नेकपाका रञ्जित तामाङलगायत अन्य दल र नौ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
यस्तै, झापा १ मा दुई स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दिएका छन् । झापा १ मा कांग्रेसबाट केशवराज पाण्डेले उम्मेदवारी दिएका हुन् । यो निर्वाचन क्षेत्र कांग्रेस उपसभापति विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो । शर्माले उम्मेदवारी नदिने भएपछि पाण्डेले टिकट पाएका हुन् । एमालेबाट रामचन्द्र उप्रेती, नेपाली कम्युनिस्ट पार्टीबाट अशेष घिमिरे, रास्वपाबाट निशा डाँगीसहितले उम्मेदवारी दिएका छन् ।
झापा २ मा भने निवर्तमान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित १८ जनाको उम्मेदवारी परेको छ । यहाँ कांग्रेसकी सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ धर्मशीला चापागाईं, राप्रपाबाट भद्रप्रसाद नेपाल (स्वागत)सहित १८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । यो क्षेत्रमा तीनजनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
झापा ३ मा दुई स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ । लामो समय कांग्रेसबाट कृष्णप्रसाद सिटौलाले प्रतिस्पर्धा गरेको यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, राप्रपाबाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली कम्युनिस्ट पार्टीबाट डिल्लीराम घिमिरे, रास्वपाबाट प्रकाश पाठकसहितको उम्मेदवारी परेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
यस्तै, झापा ४ मा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट जिल्ला सभापति देउकुमार थेबे, एमालेबाट लालप्रसाद साँवा लिम्बू, नेपाली कम्युनिस्ट पार्टीबाट पुरुषोत्तम चुडाल, रास्वपाबाट शम्भुप्रसाद ढकाल, राप्रपाबाट निवर्तमान प्रदेश सभा सदस्य भक्तिप्रसाद सिटौलाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
साभार : नयाँपत्रिका