Connect with us
Kapilvast Forest

मलेसियामा नेपाली सुरक्षा गार्डले पाउँदैनन् न्यूनतम तलब

२०८२, ८ माघ बुधबारमा प्रकाशित

काठमाडौं –

मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् ।मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् ।हाल १ हजार ५ सय रिंगिट तलब र ७ सय रिंगिट ‘ओभरटाइम’ गरी २ हजार २ सय रिंगिट कुल तलब पाउने गरेका छन् । बढेको तलब अनुसार सुरक्षा गार्डले २ हजार ४ सय रिंगिट तलब पाउनुपर्ने हुन्थ्यो । तर, बढे अनुसार तलब पाउन नसकेको उनीहरूले गुनासो गरेका छन् ।

‘महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले ड्युटी गर्दा २ हजार २ सय रिंगिट तलब दिने गरेको छ, त्यसमा पनि विभिन्न नाममा काटिएर आउँछ,’ एक सुरक्षा गार्डले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘मलेसियन सरकारले न्यूनतम तलब १५ सयबाट १७ सय पुर्‍याएको छ, तर हामीले पाउँदैनौं ।’मलेसियामा सुरक्षा गार्डको काम गर्दै देवराज फुयालले ओभरटाइम १ सय २० घण्टाको ५ सय रिंगिटमात्र दिने गरिएको बताए । त्यस्तै मनकुमार सन्बले तोकिएको न्यूनतम तलब नदिनु अन्याय भएको बताए ।

महिनाभरि दैनिक १२ घण्टा काम गरेको तलब २ हजार १ सय रिंगिट दिनुपर्ने हुन्छ । तर, कतिपय कम्पनीले त्योसमेत नदिएको सन्बको भनाइ छ ।त्यस्तै प्रभु यादवले सुरक्षा गार्डहरूले तलबको कागज समेत नपाउने गरेको बताए । उदास पाख्रिनले सेक्युरिटी कम्पनीहरूले समेत तलब नबढाउने गरेको बताए ।अर्का पीडित राकेश परियारले मलेसियामा सेक्युरिटीमा धेरै बेथिति रहेको बताए । म्यानपावर कम्पनीहरूले सामाजिक सञ्जालमा २ हजार २ सय रिंगिट तलब भन्दै विज्ञापन गर्ने गरेको तर एकदमै कम दिने गरेको उनको भनाइ छ ।

काम नभएको खण्डमा महिनौंसम्म सुताउने तर एकदिन छुट्टीमा बसेको खण्डमा २ सय रिंगिट काटिदिने गरेको गुनासो उनले गरे ।दुर्गा मगरले महिनामा ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्दा २ हजार २ सय रिंगिट दिने गरेको तर त्यसमा काटेर २ हजार १ सय २८ रिंगिट मात्रै पाउने गरेको बताए ।‘नयाँ साथीहरूको २१ सय रिंगिट पनि छ, मलेसियामा सेक्युरिटी गार्डका अनेक दुस्ख छन्, हाम्रो गुनासो कसले सुनिदिने हो रु,’ मगरले भने, ‘मलेसियामा सेक्युरिटी गार्ड पठाउन बन्द गरिदिए हुन्छ, दूतावास भन्ने मात्रै हो, हाम्रो गुनासो कहिल्यै सुन्दैन ।’

नेपाली दूतावास मलेसियाका अनुसार तलब १७ सय रिंगिट नै पाउने गरेका छन् । सार्वजनिक बिदामा काम गरेको, अफ–ड्युटी लागेको लगायतमा भने केही समस्या देखिएको दूतावासले जनाएको छ । अरू समस्या बिस्तारै हल हुँदै गए पनि ओभरटाइमको विषयमा केही समय लाग्ने दूतावासका एक अधिकारीले बताए ।महिनाको ३० दिन नै दैनिक १२ घण्टा काम गर्ने सुरक्षा गार्डहरूको हकमा समेत समस्या देखिएको छ । कतिपय कम्पनीले नियम अनुसार नै काम गरिरहेका छन् । तर, केहीले बिदासमेत नदिने, ओभरटाइम समेत नदिने गरेको पाइन्छ ।

हालसम्म न्यूनतम तलब नै नपाएको भन्ने गुनासो भने नआएको दूतावासका ती अधिकारीको दाबी छ । अहिले बढे अनुसार नै मासिक १ हजार ७ सय रिंगिट नै पाइरहेको उनको भनाइ छ । तर, धेरैजसो सुरक्षा गार्डहरूले न्यूनतम तलब समेत नपाउने गरेको बताउँदै आएका छन् ।

मलेसियामा सेक्युरिटी कम्पनीहरू मार्फत सुरक्षा गार्डहरूलाई काममा लगाउने गरिएको छ । हाल १ हजार १ सय २७ वटा सेक्युरिटी कम्पनी मार्फत काममा लगाउने गरिएको छ । हाल मलेसियामा १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् ।

ती कम्पनीबीच नै प्रतिस्पर्धा हुने गरेको छ । सुरक्षा गार्डले महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्ने कतिपयले मासिक ३ हजार रिंगिट समेत कमाउने गरेका छन् ।दूतावासले अहिले मागपत्र प्रमाणीकरण गर्ने बेला नै न्यूनतम तलब, ओभरटाइम तथा बिदा लगायत विषयमा कडाइसाथ कार्यान्वयन गर्दै आएको जनाएको छ ।विगतमा काम नलगाइ २र३ महिनासम्म समेत त्यत्तिकै राखिदिने गरिएको थियो । तर, अहिले त्यो समस्या ९९ प्रतिशत समाधान भइसकेको दूतावासका ती अधिकारीको दाबी छ ।

‘अहिले न्यूनतम तलबमा समस्या देखिएको छैन, कमसेकम बसाएर खुवाएर पनि दिनुपर्छ भन्ने छ,’ दूतावास स्रोतले भन्यो, ‘त्यो कुरामा त हामीले कडाइ गरेका छौं तर ठ्याक्कै ओभरटाइममा चाहिँ समस्या छ, मेनुफ्याक्चरिङ सेक्टरमा समस्या त्यति छैन, सेक्युरिटीमा छ ।’दूतावासका जनसम्पर्क अधिकृत जनप्रकाश गिरीले गत शुक्रबारको फेसबुक पेज लाइभ मार्फत सुरक्षा गार्डको तलबको विषयमा देखिएको समस्या समाधानका लागि काम गरिरहेको बताएका थिए ।

‘एकैदिन समस्या समाधान हुँदैन, तपाईंहरूको सपोर्ट पनि चाहिन्छ, प्रपर कम्प्लेन पनि चाहिन्छ,’ गिरीले भने, ‘हामीले सोध्ने बेला सबै ठिक छ भनेर खबर आउने पनि गरेको छ ।’अहिले सबै कम्पनीलाई सेक्युरिटी गार्डलाई सातामा एकदिन आराम गर्न दिनुपर्ने भनेर मागपत्र प्रमाणीकरणका बेला नै भनिरहेको उनको भनाइ थियो ।न्यूनतम तलब मासिक १ हजार ७ सय रिंगिट र एकदिन बिदा दिनुपर्ने भनेको बताए ।

‘धेरै कम्पनीले हुन्छसमेत भनेका छन्, कतिपय कम्पनीले साथीहरू आराम गर्नुस् भन्दा पनि मान्नुहुन्न भन्ने छ,’ गिरीले भने, ‘आराम गर्न नमान्नुको डर, पैसा काट्ने डर भएकाले हो, त्यसका लागि पैसा काट्न मिल्दैन भनेर भनिरहेका हुन्छौं, कम्पनीहरूसँग हाम्रो कुरा भइरहेको छ ।’नेपाली दूतावासले सुरक्षागार्डको काम गर्ने नेपालीलाई सातामा न्यूनतम एकदिन आराम अनिवार्य गरेको जनाएको छ । तर, आराम गरे कम्पनीले तलब काट्ने डरले नेपाली सुरक्षागार्डले पूरै महिना काम गर्नुपरेको गुनासो गर्दै आएका छन् ।

मलेसियाले कार्यान्वयन गरिरहेको कर्मचारी सञ्चय कोष (ईपीएफ) का लागि मासिक ३५ रिंगिट कट्टा हुने गुनासो पनि उनीहरूको छ । मलेसियामा कर्मचारीलाई अवकाश र अन्य वित्तीय सुरक्षाका लागि बचत जम्मा गर्न अवकाश बचत कोष सञ्चालन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu