पाँच लाख २० हजारले एसइई परीक्षा दिँदै, परीक्षा केन्द्र कायम गर्ने क्रम जारी
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीका अनुसार मुख्य त मतपत्र र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने एउटै ठाउँ (सरकारी स्वमित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड) हुँदा सुरक्षाको हिसाबले निर्वाचनको प्रभाव पर्ने देखियो।
अर्को तर्फ जनशक्ति,सम्बन्धित ठाउँमा प्रश्नपत्र लगेर सुरक्षित राख्न लगायत चुनौती देखियो। त्यही कारण बोर्डले एसइई परीक्षा समय सारेको हो। बोर्डले परीक्षा तालिका सार्वजनिक गरेसँगै अब अभिभावक र विद्यार्थीहरुमा रहेको अन्योलता र चिन्ता पनि समाप्त भएको छ।
परीक्षा तालिका अनुसार चैत १९ गते अर्थात् पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ। चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधिको परीक्षा हुने छ।त्यस्तै, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितिय खण्डका सबै विषय लगायतको परीक्षा सञ्चालन हुने छ।
करिब पाँच लाख २० हजार विद्यार्थीले परीक्षा दिँदै
परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षा करिब पाँच लाख २० हजार विद्यार्थीहरुले दिने जनाएको छ। बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक तारानाथ निरौलाका अनुसार नियमित तर्फ चार लाख ५२ हजार ४५ जना विद्यार्थी छन्। गत वर्ष एनजी ल्याएका अर्थात फेल भएका ६२ हजार विद्यार्थीहरु छन्।
‘पुराना विद्यार्थीहरु कति छन भन्ने यकिन छैन,लगभग ७ हजार जति पुरानै विद्यार्थी हुन्छन् होला,त्यसो हुँदा यस वर्ष एसइई परीक्षा दिने परीक्षार्थीहरु करिब पाँच लाख २० हजार जति हुन्छन्,’उनले भने। गत वर्षको एसइई परीक्षा भने गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
परीक्षा केन्द्र कायम गर्ने क्रम जारी
बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उपनियन्त्रक निरौलाले अहिले उक्त परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार विभिन्न जिल्लाहरुबाट धमाधम परीक्षा केन्द्र निर्धारण गरि केन्द्रमा विवरण पठाइरहेका छन्।
‘परीक्षा केन्द्र निर्धारण गरेर विवरण आउने क्रम जारी छ,अब सबै ठाउँबाट विवरण आएपछि देशभर कति परीक्षा निर्धारण गरियो भन्ने यनिक जानकारी हुनेछ,’उनले भने।
परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० ले पुष महिनामै माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका (संशोधनसहित-२०६८)अनुसार परीक्षा केन्द्र निर्धारण गरि पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको थियो।
यी एकाइहरूले पौष मसान्तसम्म परीक्षा केन्द्र निर्धारण गरी आगामी माघ पहिलो हप्ताभित्र बोर्डको कार्यालयमा पठाउनुपर्ने थियो। तर,निर्वाचण तयारीका कारण उनीहरुबाट केन्द्र निर्धारण गर्नमा ढिलाइ भइरहेको उनले जानकारी दिए।
गत वर्ष एसइई परीक्षाका लागि देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यसपालीको लागि भने अब केही दिनभित्रै सबै ठाउँबाट परीक्षा केन्द्र निर्धारण गरि विवरण आउने उपनियन्त्रक निरौलाले सुनाए। अहिले बोर्डले आन्तरिक रुपमा तिब्र ढंगले एसइई परीक्षा सञ्चालनको तयारी गरिरहेको उनले जानकारी दिए।