थारुको छोरोमाथि हस्तक्षेप भयो: प्रदेश अध्यक्ष पठान
कपिलवस्तु-
जनताको समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा पूर्व सांसद रेशमलाल चौधरीको उम्मेदवारी अस्वीकार गरिएको घटनाप्रति आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले चौधरीको उम्मेद्वार अस्वीकार गरेपछि थारुको छोरामाथि हस्तक्षेप भएको पठानले बताउनुभयो ।
जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अकरम पठानद्वारा जारी विज्ञप्तिमा उक्त निर्णयलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कार्य भन्दै कडा निन्दा गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ कि पहिचान प्राप्तिका लागि संघर्षरत शक्तिमाथि योजनाबद्ध रूपमा हस्तक्षेप गरिएको यो घटना लोकतन्त्रका मूल्य र मान्यताविरुद्ध रहेको छ ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार जनताको समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्न जातो बाट चुनाव लड्ने निर्णय भएको थियो ।
तर उक्त निर्णयपछि देखिएका गतिविधिहरूले निष्पक्ष निर्वाचन सम्पन्न गर्न खोजिएको प्रयासमाथि षड्यन्त्र भइरहेको अनुभूति भएको पार्टीको दाबी छ ।
जनताको समाजवादी पार्टीले निर्वाचन आयोगले निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्दै, यदि यस घटनाबाट गम्भीर परिणाम उत्पन्न भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएको छ ।
