बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
हाम्रा राज्यका अङ्गहरू असाध्यै कमजोर प्रकृतिको रहेको भन्दै उनले भदौ २४ को घटनाले यो कुरा देखाएको बताए।’तिनको सुधार गर्ने कामहरू बाँकी छन् र मुख्य रूपमा देशमा चैँ तीव्र आर्थिक विकास र समृद्धिको दिशामा अगाडि बढ्नु पनि जरुरी छ। यस्तो अवस्थामा मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अविभाज्य भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर उम्मेदवारी फिर्ता लिने मैले निर्णय गरेको छु’, उनले भनेका छन।
‘अहिले जेनजी विद्रोहपछि जेनजी समुदाय समूहसँग राज्यले गरेको सम्झौता छ। यिनीहरूको कार्यान्वयन गर्नको निम्ति मैले आफ्नो तर्फबाट सहयोग गर्ने नै छु। आवश्यक पर्ने भूमिका म निशर्त रूपमा निःस्वार्थ ढङ्गले मैले निर्वाह गर्ने नै छु’, उनले भनेका छन्, ‘मैले हुर्काउँदै आएको हिजोको नयाँ शक्ति पार्टी, जो अहिले प्रगति लोकतान्त्रिक पार्टीको रूपमा अगाडि बढेको छ। त्यसको सँगसँगै अरू रास्वपा, उज्यालो नेपाल पार्टी,जुन नयाँ बनेका पार्टीहरू छन् र पुराना दलहरूका पनि अग्रगामी सोच राख्ने जो साथीहरू हुनुहुन्छ, उहाँहरू सबैसँग सहकार्य गर्ने, सबैलाई सहयोग गर्ने मेरो प्रतिबद्धता रहन्छ।’
उनले प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए। गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन्। ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेका थिए।