Connect with us
Kapilvast Forest

राजधानीका सडकभरि भिखारी

२०७६, २० मंसिर शुक्रबारमा प्रकाशित

प्रधानमन्त्रीले पटकपटक ‘अब कुनै नेपालीले सडकमा मागेर बस्न पर्दैन’ भने पनि राजधानीका सडकमा माग्नेहरू घटेका छैनन्
फातिमा बानु, सीमा तामाङ ,मंसिर २०,

काठमाडौँ — २०७५ चैत २८ मा नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अब कुनै पनि नेपालीले सडकमा बसेर माग्न पर्दैन ।’ कसैले सडकमा मागिरहेको देखेमा सरकारलाई खबर गर्नसमेत आग्रह गर्दै उनले थपेका थिए, ‘सरकारले माग्नै नपर्ने वातावरण बनाउँछ, त्यसैले अब कसैले पनि माग्न पाउँदैन ।’

सात महिनाअघि राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा त्यही कुरा दोहोर्‍याउँदै उनले भने, ‘कोही व्यक्ति सडकमा मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।’
गत असोज १३ गते देशलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रममा उनले फेरि भने, ‘अब नेपाललाई छिट्टै सडकमानवमुक्त, भिखारीमुक्त देश घोषणा गर्नेछौं ।’प्रधानमन्त्रीले पटकपटक यस्ता ‘घोषणा’ गरे पनि राजधानीका सडकमा जताततै हात थापिरहेका मगन्ते देख्न सकिन्छ । तिनको दयनीय अवस्थाले प्रधानमन्त्रीकै भनाइलाई गिज्याइरहेको छ ।

सर्लाही मलंगवाका ४७ वर्षीय किशोर साहह्वीलचियरमा बसेर पैदलयात्रुसँग पैसा माग्न हात थापिरहेका थिए । कोही उनलाई पैसा दिन्थे, केही भने वास्तै नगरी अघि बढ्थे । पैसा लिँदा उनको हात थरथर काँपिरहेको थियो ।

वीर अस्पतालवरिपरि माग्न बस्ने उनी मंगलबार भने न्युरोडको भूगोलपार्कमा देखिए । ‘पहिले त गाउँमा काम गरेर खान्थेँ । बस दुर्घटनामा परेर दुवै खुट्टा नचल्ने भयो,’ उनले भने, ‘आमाबुवा सानैमा बित्नुभएको थियो । घरमा दाजुभाउजूले हेला गरेर टिक्न नदिएपछि मागेर खानुपर्ने भएँ ।’
टेकुमा कोठा लिएर पढ्न बसेका भदाले उनलाई बास दिएका छन् । मागेरै उनी दैनिक तीन सय रुपैयाँसम्म भेला पार्छन् । जति रकम हुन्छ, भदालाई नै राख्न दिन्छन् । ‘मलाई उसैले पकाएर खुवाउँछ । कहिलेकाहीँ त माग्न बसेको ठाउँमै खाना ल्याइदिन्छ,’ उनले भने, ‘गाह्रो पर्दा अस्पताल लगिदिन्छ । मागेको आधा पैसा उपचार खर्चमै सकिन्छ ।’

सिन्धुपाल्चोककी ८० वर्षीया कान्छी तामाङ पनि वसन्तपुर क्षेत्रमा तीन दशकदेखि मागेरै गुजारा गरिरहेकी छन् । मागेरै उनले छोरी हुर्काइन्, पढाइन् । ‘३० वर्षअघि श्रीमान् बितेपछि छोरा–बुहारीसँगै बसेकी थिएँ, काम गर्न नसक्ने भनेर नराम्रो व्यवहार गर्न थालेपछि छोरी लिएर निस्किएँ,’ उनले सम्झिइन्, ‘धेरै वर्ष त अर्काको घरको चिसो छिँडीमा छोरी लिएर सुतेँ ।’ अहिले उनकी छोरी नै कमाएर कोठाभाडा तिर्ने भइसकेकी छन् । उनी भने बिहान १० बजेदेखि अँध्यारो नभएसम्म माग्न बस्छिन् । पैसा त दिनमा एक सय पनि हुँदैन । एक छाक पुग्ने चामलसम्म दिन्छन्,’ उनले भनिन् ।

न्युरोड र वसन्तपुरमात्र होइन रत्नपार्क, जमल, सुन्धारा, भोटाहिटी, कान्तिपथलगायत राजधानीका कुनै सडक यस्ता छैनन्, जहाँ माग्नेहरू नभेटियून् । यसरी बस्नेहरू कसैले हातखुट्टामा चोट लागेको देखाउन पट्टी बाँधेका हुन्छन् । कोही भने गम्भीर रोगले थलिएको भन्दै माइक बजाएर बस्ने हुन्छन् । कसैले ससाना बच्चा च्यापेका हुन्छन् । अझ दृष्टिविहीनहरू त गीत गाएरै सहयोग मागिरहेका भेटिन्छन् ।

नेपालको संविधानले आफ्नो हेरचाह आफैं गर्न नसक्ने नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । आर्थिक वर्ष ०७५/७६ को बजेट वक्तव्यले समेत ‘कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भन्ने नारा तय गर्दै अशक्त, असहायले सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास दिलाएको थियो । तर सडकमा माग्न बस्नेहरू न कम भएका छन्, न त तिनका लागि राज्यले केही गरेकै छ । तमाम प्रतिबद्धता उनीहरूका लागि नमिठो ठट्टा बनेका छन् ।

सडकमा माग्न बस्नेहरूका आफ्नै बाध्यता छन् । दोलखा चरिकोटका कमल क्षेत्री असन वरपर रिक्सा चलाएर परिवार पाल्थे । दुई वर्षअघि उनलाई मोटरसाइकलले ठक्कर दिएर अशक्त बनायो । ‘श्रीमती मानसिक बिरामी छिन् । छोराछोरी छैनन्,’ उनले भने, ‘कमाउने मै एउटा पनि घाइते भएपछि बिहान–बेलुकाको छाक टार्न मुस्किल भयो । माग्नुको विकल्प नै भएन । घाइते भएको दिनदेखि मैले कोठाभाडा तिरेको छैन ।’ अहिले उनी श्रीमती लिएरै असन क्षेत्रको गल्लीमा माग्न बसेका छन् । बाटो हिँड्नेले पैसा दिएको दिन उनको कोठामा खाना पाक्छ, नत्र भोकै पर्छन् ।

काभ्रेकी सानु तामाङले वसन्तपुर क्षेत्रमा मागेरै गुजारा चलाएको नौ वर्ष पुग्यो । ४५ वर्षीया उनका श्रीमान् भारी बोक्ने काम गर्थे । एक वर्षअघि खुट्टा भाँचिएपछि उनी पनि श्रीमतीमै आश्रित छन् । ‘छोरीहरू बिहे गरेर गइसके,’ उनले भनिन्, ‘कहिलेकाहीँ देख्छु, तर उनीहरू नदेखेजस्तो गर्छन् ।’ मागेकै पैसाले श्रीमान्लाई औषधिसमेत जुटाउने गरेको उनले बताइन् ।

सडकमा माग्नेहरूको कथा बुझ्न जाँदा कतिपयले भने हामीलाई शंकाको नजरले हेरे । कुन संस्थाबाट आएको ? हामीलाई पाल्न लैजाने हो ? भन्दै उल्टै प्रश्न गरे । बुझ्दै जाँदा थाहा भयो, माग्ने ‘धन्दा’ चलाउनेहरू पनि काठमाडौंका सडकमा कम रहेनछन् ।

सरिता नेपालीले दुई छोरीलाई महांकाल मन्दिरअगाडि माग्नकै लागि राखेकी रहिछन् । ठूली छोरीसहित उनी तिनको निगरानी गरिरहन्छिन् । माग्न बसेकी माइली छोरीले भनिन्, ‘बुबा सातदोबाटोमा लुगा सिलाउनुहुन्छ । कोठा पनि त्यहीँ छ ।’ आफ्नो उमेर भने उनले बताइनन् । उनीसँग कुरा गर्दागर्दै जेठी दिदी आइन् र बहिनीले भनेको कुरा पत्रिकामा नलेख्न अनुरोध गर्न थालिन् । त्यति नै बेला आमा पनि टुप्लुक्क आइपुगिन् । उनले भनिन्, ‘हामी सडकमा बस्छौं । सडकमै खान्छौं । श्रीमान् पनि यस्तै काम गर्नुहुन्छ । बच्चाको कुरा नपत्याउनु है ।’

मुलुकी अपराध संहिता २०७४ ले सडक, गल्ली, पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने व्यवस्था गरेको छ । यसरी माग्नेलाई दुई महिनासम्म कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ । तर, संविधान र कानुनका व्यवस्था आजका मितिसम्म कागजबाट ओर्लेर माग्नेहरूसम्म आइपुगेका छैनन् ।

अब माग्ने देख्नु पर्दैन : मेयर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडकमा माग्नेको व्यवस्थापन गर्न अभियान नै चलाउन लागेको बताए । मंसिर २९ मा हुने २५औं महानगर दिवसमा महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्ने निर्णयसँगै सडकमा माग्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ । ‘सडकमा माग्नेलाई व्यवस्थापन गर्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘सबैलाई सुरक्षित बसोबासको व्यवस्था गर्नेछौं ।’ कोही व्यक्ति भोकै नपरून्, भोकै नमरून् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको शाक्यले बताए ।

‘सडकमा मागिरहेको मैले पनि देखेको छु । विगतको जस्तो जताततै नभएपछि अहिले कम भएको छ,’ उनले भने, ‘नमाग्दा भोकै हुने अवस्था आउनेलाई खाना र बस्ने व्यवस्था गर्दै छौं,’ उनले भने, ‘बिरामी हुनेलाई उपचार गर्छौं । परिवारबाट एक्लिएकालाई मिलन गराउँछौं ।’

गणेश मन्दिर मगन्तेरहित
भक्तपुर (कास)– सूर्यविनायक गणेश मन्दिर प्रबन्ध समितिले मन्दिर परिसरलाई मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । मन्दिर क्षेत्रमा मगन्तेले धर्मावलम्बी र पर्यटकलाई मागेर दुःख दिने, अभद्र व्यवहार गर्ने गरेको गुनासो बढेपछि समितिले उनीहरूलाई हटाएको हो । मगन्ते व्यवस्थापनका लागि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।

‘मन्दिरमा मागेको पैसा मिटर ब्याजमा लगाएको पाइएपछि उनीहरूलाई हटाएका हौं,’ अध्यक्ष थापाले भने । बेवारिसे, अशक्त र मागेर गुजारा चलाउनेलाई मानव कल्याण सेवाघर पठाइएको छ । c- kantipur

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu