मतदातालाई पढाउन स्वयंसेवक खटाउँदै आयोग
मतदाता सहभागिता बढाउने तथा बदर मत कम गर्ने उद्देश्यसहित निर्वाचन आयोगले मतदान शिक्षा विशेष कार्यक्रम सुरु गर्ने भएको छ । आमनागरिकलाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व तथा मतदान विधिबारे समयमै जानकारी दिन विशेष कार्यक्रम तयार पारी लागू गरिएको आयोगले जनाएको छ ।
कार्यक्रममार्फत आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गरिने उनले बताए । ‘आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न खोजिएको छ,’ आयोग प्रवक्ता भट्टराईले भने, ‘यससँगै मतदानको कार्यमा आममतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य छ ।’
भट्टराईका अनुसार मतदाता शिक्षाका लागि आमसञ्चारमाध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरिनेछ । देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६,७४३ वडामा ३–१७ फागुनसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने उनले बताए ।
‘कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्नेछन्,’ उनले भने, ‘योसँगै आमसञ्चारमाध्यम तथा आमपहुँचका कार्यक्रमबाट पनि मतदाता शिक्षा र निर्वाचन प्रचार–प्रसार व्यापक र प्रभावकारी बनाइनेछ ।’
स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नतामार्फत सञ्चालन हुने यो कार्यक्रमले समावेशी सिद्धान्तबमोजिम प्रभावकारी मतदाता शिक्षा प्रवद्र्धन हुने भट्टराईको भनाइ छ ।
मतदाता शिक्षाका लागि आयोगले आवश्यक तयारी गरिसकेको छ । मतदाता शिक्षाका लागि २५ करोड बजेट विनियोजन गरिएको छ । मतदाता शिक्षा तथा तालिम सामग्रीको तयारी र उत्पादन १६ माघमा भइसकेको छ । मतदाता शिक्षासम्बन्धी मुख्य प्रशिक्षकलाई प्रशिक्षण १७ र १८ माघमा भइसकेको छ ।
मतदाता शिक्षा तालिम प्रदेशस्तरमा २० र २१ गते भइसकेको छ । मतदाता शिक्षा सामग्री निर्वाचन कार्यालयमा ढुवानी २६ माघमा भइसकेको छ । अब जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ताको नियुक्ति २८ गते, जिल्लास्तरीय मतदाता शिक्षा कार्यकर्ता तालिम २९ गते र मतदाता शिक्षा कार्यक्रम सञ्चालन (निर्वाचन शिक्षा कार्यकर्ता परिचालन) ३ देखि १७ फागुनसम्म गर्ने कार्यतालिका छ ।
कसरी सञ्चालन हुन्छ ?
आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवकलाई घरदैलो तथा विद्यालयस्तरमा परिचालन गरिनेछ । आयोगले आमसञ्चार तथा सामाजिक सञ्जालबाट पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेछ ।
मतदाता शिक्षाका लागि स्थानीय तहका सबै वडामा एक–एकजना योग्य र अनुभवी स्वयंसेवक नियुक्त गरिने प्रवक्ता भट्टराईले बताए । नियुक्त भएका स्वयंसेवकहरू कार्यक्रम सञ्चालन गर्न आफ्नो वडाभित्रका विद्यालय र घरधुरीसम्म पुग्नुपर्ने भनिएको छ । आममतदातालगायत राज्यको मूलप्रवाहबाट पछि परेका वर्ग, लिंग, समुदाय र क्षेत्रका मतदाताहरूको निर्वाचनसम्बन्धी सचेतना अभिवृद्धिका लागि स्थानीय स्वयंसेवकहरूले बुझ्ने भाषामा मतदाता शिक्षा प्रदान गर्नुपर्ने पनि भनिएको छ ।
स्वयंसेवकले निर्वाचन प्रचारसम्बन्धी पर्चा, ब्रोसर तथा नमुना मतपत्रको माध्यमबाट मतदातालाई मतदान प्रक्रियासम्बन्धी सही सूचना दिनुपर्ने भनिएको छ । स्वयंसेवकलाई १० हजार पारिश्रमिक व्यवस्था गरिएको छ ।
आमसञ्चार र सामाजिक सञ्जालको पनि प्रयोग, ‘म निर्वाचनमा सहभागी हुन्छु’ अभियान चलाइने
आयोगले मतदाता शिक्षासम्बन्धी कार्य थप व्यवस्थित र विश्वसनीय बनाउन निर्वाचन अवधिभर निर्वाचनसम्बन्धी आधिकारिक सूचना तथा जानकारी आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत व्यवस्थित रूपमा प्रवाह गर्ने कार्ययोजना बनाएको छ । प्रवक्ता भट्टराईका अनुसार सत्यतथ्य सूचनाको सम्प्रेषण, सामाजिक सञ्जालको सही उपयोग, मतदाता शिक्षा, निर्वाचन सचेतना तथा प्रचारका तीनवटा कार्य गरिनेछ ।
पहिलो– आयोगले प्रवाह गर्ने निर्वाचनसम्बन्धी सूचना तथा जानकारी लक्षित वर्गसम्म उपयुक्त समयमा सहज रूपमा पुर्याउने, दोस्रो– निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षामा सञ्चार संस्था, सञ्चारगृह र आमसञ्चार माध्यमसँगको साझेदारी अभिवृद्धि गर्ने तथा तेस्रो– निर्वाचनसम्बन्धी सूचना सम्प्रेषण र मतदाता शिक्षाका लागि सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने रहेको छ ।
सबैखाले सञ्चारमाध्यमबाट निर्वाचनसम्बन्धी सन्देशमूलक अडियो, भिडियो सामग्री प्रकाशन तथा प्रसारण गरिनेछ । फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट सन्देश प्रसारण गरिनेछ । मोबाइल तथा ल्यान्डलाइन फोनमा कलररिङ ब्याक टोन (सिआरबिटी) र एसएमएस व्यवस्था गरिनेछ ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत ख्यातिप्राप्त व्यक्तिबाट म निर्वाचनमा सहभागी हुन्छु अभियान चलाइनेछ । यसबाहेक आयोगले देशभरका रणनीतिक ठाउँमा आवश्यकताअनुसार नमुना मतदान कार्य सञ्चालन गर्ने प्रवक्ता भट्टराईले बताए । मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन र अनुगमनका लागि निर्वाचन अधिकारीको संयोजकत्वमा चारसदस्यीय अनुगमन समिति पनि रहनेछ ।
स्वयंसेवकका १२ काम
स्वयंसेवकका लागि १२ वटा काम तोकिएको छ । पहिलो– आफूलाई तोकिएको वडा क्षेत्रभित्रका प्रत्येक विद्यालय तथा प्रत्येक बस्तीमा भ्रमण गरी घरदैलो कार्यक्रम सञ्चालन गर्ने भनिएको छ ।
दोस्रो– विद्यालयमा बालबालिकाहरूलाई मतदानको महत्व र मतदान गर्ने सही तरिका आफ्ना अभिभावकहरूलाई सिकाउन विद्यालयका प्रधानाध्यापकको अनुमति लिई संक्षिप्त नागरिक शिक्षा सञ्चालन गर्ने भनिएको छ ।
तेस्रो– नमुना मतपत्र देखाएर घरमा उपलब्ध भएका मतदातालाई मतदान गर्ने सही तरिकाको जानकारी गराउने रहेको छ । चौथो– आयोगले प्रयोगमा ल्याएका सामाजिक सञ्जालबारे मतदातालाई जानकारी र आबद्धता गराई यसको प्रयोग गर्न सिकाउने भनिएको छ ।
यस्तै, पाँचौँ– निर्वाचन आचारसंहितामा भएका मतदाताले पालना गर्नुपर्ने मुख्य–मुख्य व्यवस्थाबारे मतदातालाई जानकारी गराउने भनिएको छ । छैटौँ– सामाजिक सञ्जालको प्रयोग गर्दा निर्वाचनसम्बन्धी विषयमा फैलिन सक्ने गलत वा भ्रामक सूचना, दुष्प्रचार द्वेषपूर्ण अभिव्यक्तिबारे जानकारी गराउने भनिएको छ ।
सातौँ– निर्वाचन र मतदान प्रक्रिया सम्बन्धमा मतदाताका प्रश्न, जिज्ञासा र गुनासाको सही र स्पष्ट जवाफ दिने भनिएको छ ।
आठौँ– आफ्नो वडा क्षेत्रभित्र भएका सबै घरधुरीमा भ्रमण गर्ने र मतदाता शिक्षाको पहुँच कम भएका लक्षित मतदाताहरूको बसोबास पहिचान गरी यस्ता क्षेत्रका घरधुरीमा प्राथमिकता दिएर भ्रमण गर्ने भनिएको छ ।
नवौँ– आफूले सञ्चालन गर्ने कार्यको दैनिक कार्यतालिका बनाई सोबमोजिम भ्रमण गर्ने क्षेत्रको सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट पूर्वजानकारी दिएर भ्रमण गर्ने, १०औँमा आफूले सञ्चालन गरेका कार्यक्रमको दैनिक फोटो तथा छोटो भिडियो बनाई अनुगमनकर्ता र समन्वयकर्तालाई पठाउने भनिएको छ ।
११औँमा मतदाताले राखेको प्रश्नमा कुनै द्विविधा वा अलमल भएमा अनुगमनकर्ता वा समन्वयकर्ता वा आयोगको कल सेन्टर ११०२ वा सूचना अधिकारीसँग सम्पर्क गरी सही समाधानसहितको जवाफ दिने र १२औँमा मतदाता शिक्षा स्वयंसेवकले प्रत्येक दिनको कार्यसहितको विवरण भएको प्रतिवेदन अनुगमनकर्तामार्फत निर्वाचन कार्यालयमा उपलब्ध गराउने भनिएको छ ।
स्वयंसेवक परिचालनका लागि निर्वाचन कार्यालयले अनुगमनकर्ता तोक्नुपर्ने भनिएको छ । अनुगमनकर्ताले आफ्नो पालिकामा तोकिएको स्वयंसेवकलाई कार्यक्रम सञ्चालन गर्न आवश्यक सहजीकरण र स्वयंसेवकहरूले दैनिक सञ्चालन गर्ने कार्यक्रमको अनुगमन गरी समन्वयकर्तालाई प्रतिवेदन दिने भनिएको छ ।
यसैगरी, मतदाता शिक्षा कार्यक्रमको समन्वयका लागि निर्वाचन अधिकारीले आफ्नो कार्यालयको एकजना राजपत्र अनंकित प्रथमस्तरको कर्मचारीलाई समन्वयकर्ता तोक्नुपर्ने भनिएको छ । समन्वयकर्ताले स्वयंसेवकसँग नियमित समन्वय र सम्पर्क गर्ने भनिएको छ ।
मतदान संस्कृतिको विकास गर्न खोजिएको छ : नारायण भट्टराई, प्रवक्ता, निर्वाचन आयोग
आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्न खोजिएको छ । यससँगै मतदानको कार्यमा आममतदाताको सहभागिता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको उद्देश्य छ । कार्यक्रमबाट मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी प्राप्त गर्नेछन् । योसँगै आमसञ्चारमाध्यम तथा आमपहुँचका कार्यक्रमबाट पनि मतदाता शिक्षा र निर्वाचन प्रचार–प्रसार व्यापक र प्रभावकारी बनाइनेछ ।