एमाले नेता गौरवमाणी त्रिपाठी रास्वपामा प्रवेश
न्युजसेन्टर नेपाल-
नेकपा एमाले कपिलवस्तुका युवा नेता तथा कृष्णनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष गौरब मणि त्रिपाठी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पूनम अग्रवालको हातबाट सदस्यता लिदै त्रिपाठी रास्वपा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो ।
कपिलवस्तु क्षेत्र नं. ३ को जिम्मेवारी सांसद अग्रवाललाई तोकिएपछि कृष्णनगरमा आयोजित विशेष कार्यक्रममा त्रिपाठीले एमाले परित्याग गर्दै रास्वपामा प्रवेश गर्नुभएको बताइएको छ ।
त्रिपाठीले अन्य पार्टीभन्दा रास्वपाले देशको हितमा प्रभावकारी काम गरेको अनुभूति भएकाले आफू ५० जनाको टोलीसहित एमाले छोडेर रास्वपामा प्रवेश गरेको बताउनुभयो । उहाँले रास्वपाको सिद्धान्त, कार्यशैली र जनमुखी सोचले आफूलाई आकर्षित गरेको उल्लेख गर्नुभयो ।
पार्टी प्रवेश कार्यक्रममा रास्वपाका जिल्ला अध्यक्ष शिव सुवेदी, जनसम्पर्क समितिका केन्द्रीय सदस्य मिर्जा रासिद बेग, नेता बालकृष्ण पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा त्रिपाठीसहित अन्य नेताहरूलाई पनि पार्टीमा स्वागत गरिएको थियो ।
पार्टी प्रवेश गर्ने नेताहरूले रास्वपाको सिद्धान्त र कार्यदिशा राम्रो लागेको भन्दै पार्टीमा आबद्ध भएको बताएका थिए ।
रुपन्देहीको भैरहवा घर भएकी समानुपातिक सांसद अग्रवालले कपिलवस्तु क्षेत्र नं. ३ का नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएर यहाँका विकास, समस्या र जनचासोका विषयलाई संसदमा उठाउने विश्वास रास्वपा नेता तथा कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।