बाँकेको कोहलपुर तनावग्रस्त, कर्फ्यू लगाउने तयारी
कोहलपुर– तीब्र गतिमा रहेको ट्रकले विद्यार्थीलाई टक्कर दिएपछि तनावग्रस्त बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था बिग्रिरहेको भन्दै कर्फ्यू लगाउने अवस्थामा पुगेको बताए ।‘अवस्था झनझन् बिग्रिरहेको छ। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू लगाउनेबारे निर्णय गर्दैछौं,’ उपाध्यायले भने ।
आइतबार विहान नम्बर नखुलेको एउटा ट्रकको ठक्करबाट त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृत्रि चन्दको मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए ।आक्रोशित विद्यार्थी र स्थानीयहरुले ठक्कर दिने ट्रकमा आगजनी गर्नुका साथै करिब ७ वटा सवारीका साधानमा तोडफोड गरेका छन् ।
विद्यार्थीहरुले राजमार्ग र सडक ठप्प पारेका छन् ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर नै गरेको थियो । आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् । उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् ।
प्रदर्शनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् ।तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् ।घटनाबारे जानकारी गराउन जाँदा स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीले उल्टै अभद्र व्यवहार देखाएको पनि स्थानीयहरुको भनाइ छ ।