आर्थिक वृद्धि ३.५१ प्रतिशत, अर्थतन्त्रको आकार ६४ खर्ब ६५ अर्ब पुग्यो
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको विवरण सार्वजनिक गरेको छ। कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार यो दोस्रो त्रैमासिकको तुलनामा ०.५८ प्रतिशत बिन्दुले बढी हो।
कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासको तुलनामा ३.५१ प्रतिशतले वृद्धि भएको अनुमान छ।
चालू आवको तेस्रो त्रैमासमा विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले बताएको छ।
अर्थतन्त्रको आकार दोस्रो त्रैमासको ६४ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब पुगेको छ।
१८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादनबाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर रहेको विवरणमा उल्लेख छ। चालू आवको तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुको घरेलु उत्पादनमा भएको गिरावटले यस त्रैमासिकको वृद्धिदर सामान्य अवस्थामा रहेको कार्यालयले जनाएको छ।