दिपेशको कप्तानीमा क्यारिङटनले जित्यो अन्डर–१५ राष्ट्रिय उपाधि
लन्डन । क्रिकेटको प्रतिष्ठित मैदान लर्ड्समा नेपाली मूलका १५ वर्षीय दिपेश सापकोटाको कप्तानीमा क्यारिङटन क्रिकेट क्लबले ईसीबी भाइटिलिटी अन्डर–१५ क्लब नेसनल कपको उपाधि जितेको छ ।
फाइनलमा क्यारिङटनले ६४ रनको सामान्य योगफल बनाए पनि दिपेशको उत्कृष्ट बलिङ र फिल्डिङले टोलीलाई जित दिलायो । उनले ४ ओभरमा २ मेडनसहित मात्र ५ रन खर्चेर २ विकेट लिए भने एक खेलाडीलाई रनआउट पनि गरे। निर्णायक प्रदर्शन गरेका दिपेश ‘म्यान अफ द सिरिज’ घोषित भए ।

गुल्मी मूलका दिपेश बेलायतमा हुर्किएका हुन् । उनले नटिङहमशायर काउन्टीको युवा संरचनाबाट क्रिकेट विकास गर्दै आएका छन् । १४ वर्षकै उमेरमा नटिङहमशायर एकेडेमीमा छनोट भएका उनले भारतको वानखेडे स्टेडियममा समेत खेल्ने अवसर पाइसकेका छन् ।
दिपेशको सफलताले नेपाली मूलको दोस्रो पुस्ता फुटबल, क्रिकेटलगायत खेलकुद तथा शिक्षा, व्यवसाय, प्रविधि र अन्य क्षेत्रमा विश्वस्तरमा अघि बढिरहेको सन्देश दिएको छ। यस्ता अन्तर्राष्ट्रिय उपलब्धिले नेपाली युवाको प्रतिभालाई विश्वसामु चिनाउनुका साथै नेपालको सकारात्मक पहिचान र देशको विश्वव्यापी प्रवर्धनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ ।
ऐतिहासिक लर्ड्स मैदानमा दिपेशलाई हौसला दिन १६० भन्दा बढी बेलायतवासी नेपाली तथा एनआरएनहरू उपस्थित थिए ।