नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई सम्मान, सम्पत्ति शुद्धीकरणदेखि एआईसम्मको प्रशिक्षण
भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गरेको छ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सञ्चालन भएको वार्षिक चेयरपर्सन क्लब कार्यक्रममा अभिकर्तासहित कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारी गरी ५६५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ।
कम्पनीकी चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले कार्यक्रम उद्घाटन गर्दै अभिकर्ता कम्पनीको महत्वपूर्ण आधार भएको बताइन्। अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउन उनीहरूको सीप, क्षमता र नेतृत्व विकासमा कम्पनीले लगानी तथा सहकार्य जारी राख्ने उनको भनाइ थियो।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको व्यावसायिक उपलब्धिलाई नेशनल लाइफ परिवारको सामूहिक सफलताका रूपमा उल्लेख गरे। नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र व्यावसायिक प्रतिबद्धताका साथ अघि बढ्दै अभिकर्ता सञ्जाल सुदृढीकरण तथा ग्राहक सेवाको गुणस्तर सुधारमा केन्द्रित हुने उनले बताए।
कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरणसँगै आफ्नो व्यक्तिगत कोड तथा सञ्जाल व्यवसायमा देशभर प्रथम, द्वितीय र तृतीय हुने तथा समूहगत व्यवसायमा प्रथम हुने अभिकर्तालाई सम्मान गरिएको थियो।
त्यस्तै सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्तासहित विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई चेयरपर्सन सिंहले विशेष सम्मान गरेकी थिइन्।
कार्यक्रमलाई सम्मानमा मात्र सीमित नराखी अभिकर्ताको व्यावसायिक क्षमता विकासका लागि सम्पत्ति शुद्धीकरण निवारण, कृत्रिम बुद्धिमत्ता र डिजिटल मार्केटिङलगायत विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए। उनले बीमालाई समेत सम्पत्ति शुद्धीकरणको माध्यमका रूपमा दुरुपयोग गर्न सकिने जोखिम रहने भन्दै शंकास्पद गतिविधिको सूक्ष्म निगरानी, ग्राहक तथा कारोबारको आवश्यक पहिचान र प्रचलित कानुनी व्यवस्थाको पालनामा बीमा व्यवसायमा संलग्न पक्ष सचेत हुनुपर्ने बताए।
कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रशिक्षणमा विश्वराज पौडेलले प्रयोगात्मक उदाहरणमार्फत एआईलाई बीमा व्यवसायमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे जानकारी दिएका थिए। ग्राहकसँग सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायत क्षेत्रमा एआई प्रयोग गर्न सकिने सम्भावनाबारे उनले प्रशिक्षण दिएका थिए।
डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षणमा संजोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा सहयोग पुग्न सक्ने बताए। डिजिटल माध्यम प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पालना गर्नुपर्ने र सत्यतथ्य तथा स्वीकृत सामग्रीमात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए। भ्रामक सूचना वा गलत भाष्य सिर्जना गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने भएकाले अभिकर्ता सचेत हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सम्मानित अभिकर्ताले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र व्यावसायिक प्रदर्शन आवश्यक पर्ने भन्दै प्राप्त सम्मानले थप प्रोत्साहन दिएको बताएका थिए।
कार्यक्रमको सुरुवातमा भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको कम्पनीले जनाएको छ।