कालीकोटमा पहिलोपटक राष्ट्रिय पुलअप होल्ड च्यालेन्ज प्रतियोगिता हुदै
कात्तिक ३ गते लालुमा हुने प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा, देशभरका खेलाडीलाई सहभागी हुन आह्वान
कालीकोट– नेपालमै पहिलोपटक राष्ट्रियस्तरको पुलअप होल्ड च्यालेन्ज प्रतियोगिता२०८३ आयोजना हुने भएको छ ।
कालीकोटको नरहरिनाथ गाउँपालिका९, लालुमा आगामी कात्तिक ३ गते प्रतियोगिता आयोजना गर्न लागिएको हो । कालीकोट जिल्ला पुलअप होल्ड च्यालेन्ज समितिको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट खेलाडी सहभागी हुने समितिका अध्यक्ष धीरबहादुर बिष्टले बताउनु भयो ।
प्रतियोगितामा ३० वर्षमुनिका महिला र पुरुष तथा ३० वर्षमाथिका महिला र पुरुष गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । विजेताले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कार राशिसहित प्रतियोगिताका थप विवरण आयोजकले पछि सार्वजनिक गर्ने जनाएको छ । कात्तिक ३ गते लालुमा हुने प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा, देशभरका खेलाडीलाई सहभागी हुन आह्वान गरेको छ ।
स्ट्रेन्थ लिफ्टिङका अन्तर्राष्ट्रिय खेलाडी बिन्दमान लामिछानेले नेपालमा पहिलोपटक पुल–अप होल्ड च्यालेन्ज आयोजना गर्न लागिएको बताउनुभयो । नेपालमा यस खेलको आधार तयार गर्दै यसको व्यवस्थित विकास र विस्तार गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको उहाको भनाइ छ ।
“नेपालमा पहिलोपटक पुलअप होल्ड च्यालेन्ज आयोजना गर्दैछौं यसलाई व्यवस्थित रूपमा अघि बढाउँदै देशभर खेलको विस्तार गर्ने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधार तयार गर्नु हाम्रो उद्देश्य हो,” लामिछानेले भन्नुभयो ।
आयोजकका अनुसार प्रतियोगिताले शारीरिक स्वास्थ्यसंगै मानसिक धैर्यता, आत्मअनुशासन र सहनशक्ति विकासमा खेलको भूमिका बढाउने लक्ष्य राखेको छ । साथै, देशका विभिन्न ठाउँबाट खेलाडी तथा खेलप्रेमीलाई कालीकोटमा आकर्षित गरी यहँको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसमेत राखिएको बताईएको छ ।
कालीकोट जिल्ला पुलअप होल्ड च्यालेन्ज समितिका अध्यक्ष धीरबहादुर बिष्ट, उपाध्यक्ष धनराज सी र सचिव मानबहादुर विश्वकर्मा लगायत पदाधिकारी प्रतियोगिताको तयारीमा जुटेका छन् ।
प्रतियोगितामार्फत देशभरका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै नया प्रतिभाको पहिचान र विकास गर्ने आयोजकको अपेक्षा छ । दीर्घकालीन रूपमा पुलअप होल्ड खेललाई देशभर विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य समितिले लिएको छ ।
समितिले देशभरका महिला तथा पुरुष पुलअप खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ । आफ्नो सीमा जितांँ, इतिहास रचांै’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताले खेलकुदसंगै स्वास्थ्य, मानसिक दृढता र कालीकोटको पर्यटन प्रवद्र्धनलाई जोड्ने आयोजकले जनाएको छ ।