Connect with us

कपिलवस्तुमा राति १० बजेपछि धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्न नपाईने

२०८३, २८ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु-

दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुरक्षा सतर्कता बढाएको छ। चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा जोखिम, धार्मिक तथा सामाजिक विवाद र अप्रिय घटना न्यूनीकरण गर्न प्रशासनले राति १० बजेपछि धार्मिक, सांस्कृतिक तथा देउसीभैलोजस्ता कार्यक्रम सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

शान्तिसुरक्षा कायम राख्न, धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न र चाडपर्वलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय समन्वय तथा सद्भाव बैठकले मदरसा तथा विद्यालय आसपास मदिराको बिक्रीवितरण र सेवनमा कडाइ गर्ने निर्णयसमेत गरेको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। सम्भावित विवादलाई समयमै समाधान गर्न स्थानीय तह, सुरक्षा निकाय, धार्मिक अगुवा तथा सरोकारवालाबीच निरन्तर र प्रभावकारी समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले धार्मिक र्‍याली, मूर्ति विसर्जन तथा सर्वसाधारणको बढी भीडभाड हुने संवेदनशील स्थानमा विशेष सुरक्षा सतर्कता अपनाइने बताउनुभयो। उहाँले कुनै पनि शंकास्पद गतिविधि वा सम्भावित विवादबारे समयमै सुरक्षा निकायलाई जानकारी गराएर सहयोग गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक गोपाल अधिकारीले चाडपर्वलाई लक्षित गर्दै सीमाक्षेत्रमा निगरानी तथा गस्ती तीव्र बनाइएको जानकारी दिनुभयो। सम्भावित अवाञ्छित गतिविधि रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा एकीकृत सुरक्षा व्यवस्था मिलाएको उहाँले बताउनुभयो।

सामाजिक सद्भाव र अफवाह नियन्त्रणमा जोड
बैठकमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना तथा अफवाह नियन्त्रण गर्ने र कसैको पनि धार्मिक आस्थामा आँच पुग्ने गतिविधि हुन नदिने विषयमा जोड दिइएको थियो। चाडपर्वका समयमा ध्वनि प्रदूषण नियन्त्रण गर्ने, सामाजिक सद्भाव कायम राख्ने तथा कुनै पनि विवादलाई आपसी संवादमार्फत समाधान गर्ने विषयमा सहभागीहरूले प्रतिबद्धता जनाएका थिए।

बैठकमा जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख राजेश कुर्मी, महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापा र शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारी सहभागी थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu