Connect with us
Kapilvast Forest

नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट, पर्यटन सहकार्य विस्तार गर्न नेपाल–भारत पर्यटन परिषद् स्थापना गर्ने घोषणा

२०८३, १३ कार्तिक बिहीबारमा प्रकाशित

चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा संयुक्त पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६ सम्पन्न भएको छ।

“कनेक्टिङ बोर्डर्स, बिल्डिङ फ्रेन्डशिप्स, ग्रोइङ टुरिजम ” भन्ने नाराका साथ अक्टोबर २५ देखि २७ सम्म गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने तथा दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन व्यावसायिक साझेदारी विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

चितवनको लाटौली रिसोर्टमा आयोजित समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री माननीय राजेन्द्र प्रजापति रहेका थिए। कार्यक्रमको अध्यक्षता NRNA ICC का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम नाथ सापकोटाले गरेका थिए। कार्यक्रम संयोजक लक्ष्मण थापाले कार्यक्रमका गतिविधि र उपलब्धिबारे जानकारी गराएका थिए भने लाटौली रिसोर्टका महाप्रबन्धक बिमल पौडेलले रिसोर्टको परिचय दिएका थिए। समृद्ध चितवन अभियानका संयोजक तारानाथ पौडेल र NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चनले स्वागत मन्तव्य राखेका थिए।

ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका प्रतिनिधि राजेश सिन्हाले भ्रमण अनुभव साझा गरेका थिए। PATA नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पी.के. शेर्पा, काठमाडौं जिल्ला होटल व्यवसायी संघका सुरेश बराल तथा अन्य प्रतिनिधिले पर्यटन सहकार्य र संयुक्त प्रचारप्रसारबारे धारणा राखेका थिए। प्रमुख अतिथि मन्त्री प्रजापतिले यस्ता कार्यक्रमले पर्यटन क्षेत्रका सरोकारवालाबीच सम्बन्ध विस्तार तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने बताए। समारोहमा सहभागीलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो र भारतीय प्रतिनिधिमण्डलले पनि मायाको चिनो प्रदान गरेको थियो।

कार्यक्रममा NRNA ICC का वरिष्ठ उपाध्यक्ष रोबिन प्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह, PATA नेपाल च्याप्टरका नरेन्द्र भट्ट, पर्यटन विज्ञ पी.के. शेर्पा, सुरेश बराल, बिमल पौडेल, लक्ष्मण थापा, तारानाथ पौडेल तथा भारतीय कन्टेन्ट क्रिएटर एवं टोली संयोजक ऋषि अरोरालगायतको सहभागिता रहेको थियो। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल (HAN), PATA नेपाल च्याप्टर, हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसन नेपाल, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटी, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डिया, नवलपुर पर्यटन समिति कावासोती, ग्रेस इन्टरनेसनल, फादर एन्ड सन ट्रेक एन्ड एक्सपेडिसन, ग्लोबल कन्सर्न सेन्टर फर क्लाइमेट चेन्ज तथा पर्यटन सूचना नेपाललगायत संस्थाले सहयोग गरेका थिए। सहभागी स्थानीय तहमा भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका रहेका थिए।

आयोजकका अनुसार नेपाल–भारत क्रस-बोर्डर टुरिजम कनेक्ट २०२६ निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरूको सहयोगमा सञ्चालन गरिएको हो र यसका लागि सरकारी आर्थिक सहायता लिइएको थिएन। कार्यक्रमका आयोजक तथा NRNA ICC का प्रवक्ता एवं पर्यटन प्रवर्द्धन समितिका coordinator सोम नाथ सापकोटाले नेपाल र भारतबीच पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना रहेको बताउँदै भन्नुभयो, “यस्ता कार्यक्रमले पर्यटन व्यवसायीबीच विश्वास, सहकार्य र व्यावसायिक साझेदारी विस्तार गर्न सहयोग पुर्‍याउँछन्। अब यस पहललाई निरन्तरता दिँदै नेपालका पर्यटकीय गन्तव्यलाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न आवश्यक छ।”

कार्यक्रमका क्रममा नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन तथा दीर्घकालीन व्यावसायिक साझेदारीलाई संस्थागत बनाउन नेपाल–भारत पर्यटन परिषद् स्थापना गर्ने घोषणा गरिएको छ। प्रस्तावित परिषद्मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक, आतिथ्य क्षेत्रका विशेषज्ञ र अन्य सरोकारवालालाई समेटिनेछ। संयुक्त गन्तव्य प्रचारप्रसार, बीटुबी भेटघाट, संयुक्त पर्यटन प्याकेज निर्माण, अनुभव आदानप्रदान तथा नियमित नेटवर्किङ कार्यक्रम सञ्चालन परिषद्का मुख्य उद्देश्य रहनेछन्। “कनेक्टिङ बोर्डर्स, बिल्डिङ फ्रेन्डशिप्स, ग्रोइङ टुरिजम” भन्ने मूल नारासहित परिषद्को औपचारिक संरचना, सदस्यता र सञ्चालन प्रक्रिया सम्बन्धित सरोकारवालासँगको छलफल तथा सहमतिका आधारमा अघि बढाइनेछ। आयोजकहरूको विश्वासमा यसले दुई देशका पर्यटन व्यवसायीबीच स्थापित सम्बन्धलाई व्यवस्थित र दीर्घकालीन सहकार्यमा रूपान्तरण गर्नेछ।