Connect with us

शिवराज नगरपालिकाद्वारा म्याद गुज्रिएको औषधि वितरण

२०८३, १३ कार्तिक बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल,वकपिलवस्तु –

कपिलवस्तुको शिवराज नगरपालिकाको कृषि शाखाले किसानलाई वितरण गरेको गगनदीप (GAGANDIP) नामक कृषि औषधिको म्याद सकिएको पाइएको छ । शिवराज ११ का किसानले पालिकाबाट लिएका औषधिको म्याद गुज्रिएको पाइएको हो । म्याद गुज्रिएको औषधि वितरण गरिएको भन्दै किसानहरूले विरोध जनाएका छन् ।

औषधिको प्याकेटमा उल्लेख गरिएको विवरणअनुसार यसको उत्पादन मिति सन् २०२४ अगस्ट १७ र म्याद सकिने मिति सन् २०२६ अगस्ट १६ रहेको छ । तर, हाल म्याद सकिएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त औषधि किसानलाई वितरण गरिएको पाइएको हो ।

प्याकेटमा उल्लेख भएअनुसार गगनदीपमा कार्बेन्डाजिम १२ प्रतिशत र म्यान्कोजेब ६३ प्रतिशत रहेको छ । यो बालीमा लाग्ने ढुसीजन्य रोग नियन्त्रणका लागि प्रयोग गरिने ढुसीनाशक औषधि हो ।

किसानलाई कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाबाट वितरण गरिने औषधि नै म्याद गुज्रिएको अवस्थामा फेला परेपछि कृषि शाखाको कार्यसम्पादनमाथि प्रश्न उठेको छ । औषधिको म्याद, गुणस्तर र सुरक्षित प्रयोगबारे आवश्यक जाँच नगरी वितरण गरिएको हो भने यसले किसानको बाली तथा कृषि उत्पादनमा जोखिम निम्त्याउन सक्ने भन्दै किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।

कृषि शाखाले किसानलाई औषधि वितरण गर्नुअघि त्यसको म्याद र गुणस्तर जाँच गर्नुपर्नेमा म्याद सकिएको औषधि कसरी वितरण भयो भन्ने विषयमा छानबिन आवश्यक देखिएको छ ।

उक्त औषधि कति किसानलाई वितरण गरिएको हो, म्याद सकिएको औषधि वितरण हुनुमा कसको जिम्मेवारी छ र बाँकी औषधि फिर्ता लिने वा वितरण रोक्ने विषयमा नगरपालिकाले के कदम चाल्छ भन्ने प्रश्नसमेत उठेको छ ।