Connect with us
Kapilvast Forest

हिमाल नेपालको मात्र नभई विश्वकै सम्पत्ति हो : मन्त्री पौडेल

२०८३, १३ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले हिमाल नेपालको मात्र नभई विश्वकै साझा सम्पत्ति भएको बताएका छन् ।

बिहीबार आयोजित नेपाल पर्वतारोहण संघकै आथित्यतामा विहीबार काठमाडौंमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआईएए)२०२६ को महासभामा आफ्‌नो धारणा राख्दै उनले हिमाल नेपालको राष्ट्रिय गौरव, संस्कृति र सभ्यतासँग जोडिएको विषय भएको बताए ।

उनले भने, ‘नेपालका लागि हिमाल भनेको माटो र ढुङ्गाको थुप्रो मात्र होइन। यो हामीहरूको लागि राष्ट्रिय गौरवको विषय हो। यसलाई पर्वत सभ्यता भन्छौँ। हामी हिमालको पूजा गर्छौँ। यहाँसम्म कि किसानहरूले पनि बाली काट्दा वा बाली लगाउँदा आफ्नो अनुहार हिमालतर्फ फर्काएर राम्रो उब्जनीका लागि प्रार्थना गर्छन्। त्यसैले यो हामीहरूको लागि एक प्रकारको संस्कृति पनि हो।’

उनले विश्वभरका अल्पाइन क्षेत्रमा बसोबास गर्ने मानिसहरूको संस्कृति, पहिरन, सङ्गीत, नृत्य र भाषामा समेत समानता पाइने उल्लेख गरे। ‘त्यसैले विश्वभर अल्पाइन क्षेत्रमा बसोबास गर्ने मानिसहरू कुनै न कुनै रूपमा उस्तै छन्,’ उनले भने ।

मन्त्री पौडेलले नेपालले पछिल्लो समय बाढीजन्य विपद्का कठिन परिस्थिति सामना गर्नुपरेको उल्लेख गर्दै हिमाली क्षेत्रको संरक्षण र जलवायु उत्थानशील गतिविधिमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘नेपालले भर्खरै धेरै कठिन समय पार गरेको छ, जस्तै कोशी फ्ल्यास बाढी र त्यसपछि गोरखामा पनि यस्तै किसिमको भयानक बाढी आएको थियो । त्यसैले यो समय हामीले दिगो र जलवायु उत्थानशील पर्वतीय गतिविधिहरूबारे छलफल गर्ने समय हो र यो हिमाल जोगाउनका लागि हात मिलाउन र समान आवाज उठाउन विश्वलाई आह्वान गर्ने समय हो।’