Connect with us
Kapilvast Forest

८० करोड खर्चेर तिलोत्तमामा सुविधा सम्पन्न बसपार्क बनाइने

२०७६, २ पुष बुधबारमा प्रकाशित

बुटवल-तिलोत्तमा नगरपालिकाको वडा नं १३ तीनधुरामा प्रादेशिक बसपार्क निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ।

१८ बिगाह नदी उकास क्षेत्रमा निर्माण हुने बसपार्क सुविधा सम्पन्न, प्रविधियुक्त र स्तरीय सेवासहितको हुनेछ भने लागत ८० करोड हुने अनुमान गरिएको छ।बसपार्कमा पेट्रोल पम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारी साधनको लागि अलग्गै पार्किङ क्षेत्र रहने गरी डिजाइन तयार गरिएको छ।

बुटवल र भैरहवामा रहेका बसपार्कले यहाँको यातायातको व्यवस्थापन थेग्न नसक्ने अवस्था रहेकोले उक्त बसपार्क निर्माणको योजना अगाडि सारिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए।‘अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणको लागि आउने यात्रुलाई लक्षितगरी बसपार्कको अवधारणा अगाडि सारिएको छ,’ उनले भने,‘अहिलेको यातायातका साधनको अवस्थालाई हेर्दा रुपन्देहीमा रहेका २ वटा बसपार्क साना भइसकेका छन् त्यसको विकल्पमा यो बसपार्क निर्माण हुन लागेको हो।

बसपार्क निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४८ करोड र प्रदेश सरकारले ३२ करोड लगानी गर्नेगरी प्रस्ताव गरिएको छ।चालू आर्थिक वर्षमा नगरपालिकाले १ करोड रकम विनियोजन गरेर डिपिआर तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ।

बसपार्कमा मर्मत सम्भारका लागि वर्कसप, एकैपटकमा २५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रुसेवा प्रवाह गर्न मिल्नेगरी डिजाइन गरिएको छ।

यसका साथै, ट्याक्सी तथा निजी सवारीसाधन पार्किङ गर्न मिल्नेछ। बसपार्कभित्र यात्रु तथा सवारी साधनका चालक छोटो समय आराम गर्न मिल्नेगरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकी रहने छन्।

प्रस्तावित बसपार्क निर्माण स्थल गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर उत्तरमा रहेको छ।

नगरपालिकाले भौतिक पूर्वाधार मन्त्रालयमा प्रस्तावित बसपार्कको प्रारम्भिक अवधारणा समेत प्रस्तुत गरेको छ।

सो अवसरमा बोल्दै प्रदेश-५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निर्माणमा बजेट अभाव नहुने बताए।

उनले पर्याप्त अध्यायन गरेर दीर्घकालीन सोचका साथ डिजाइन गर्न आग्रह गरे।

चौधरीले अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र स्थानीय अन्य सहरहरूबाट सहज हुनेगरी पहुँचमार्ग निर्माणलाई समेत समेटेर गुरुयोजना बनाउन सुझाव दिए।उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले कम्तीमा आगामी ५० वर्षलाई अनुमान गरेर बसपार्कको डिजाइन तयार गर्न आग्रह गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu