Connect with us
Kapilvast Forest

प्रमुख प्रशासकीय अधिकृत कुटिए, वडाध्यक्ष पक्राउ

२०७६, ३ पुष बिहीबारमा प्रकाशित

३ पुस, रुकुम । रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्द बुधबार साँझ कुटिएका छन् । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले आठबीसकोट नगरपालिका वडानम्बर ३ का अध्यक्ष केशरमान विकलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गरेका केसी र चन्द बुधबार बेलुका ६ बजेतिर आठबीसकोट नगरपालिका–९, राडीज्युलामा कुटिएका हुन् । आक्रमणबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको टाउकोमा चोट लागेको छ । चेन प्रहारबाट चोट पुगेको उनको टाउकोमा पाँच टाका लगाइएको छ ।

त्यहाँ असुरक्षासँगै थप उपचार गर्नुपर्ने भएपछि उनी जिल्ला सदरमुकाम मुसिकोट आएका छन् । मुसिकोटमा पनि उपचार सम्भव नभएपछि आफू काठमाडौं जान लागेको उनले बताए ।

कुटपिटमा परेका सूचना प्रविधि अधिकृत चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले कुटपिट गरेको दाबी गरे । आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको उनको भनाइ छ । ‘बसेरा–खदी सडकको बजेटमा महालेखाले २९ लाख बेरुजु देखाएपछि उनले मिलाउन भनेका थिए । मैले सकिँदैन भनेपछि उनी मसँग रूष्ट थिए’, निमित्त प्रशासकीय अधिकृत केसीले अनलाइनखबरसँग भने, ‘त्यसैको रिस फेर्न उनले बुधबार मलाई आक्रमण गरे ।’

त्यहाँ गएर काम गर्ने वातावरण नभएको भन्दै उनले अन्यत्र सरुवा गरिदिनसमेत माग गरेका छन् । ‘अब त्यहाँ गएर काम गर्ने वातावरण छैन’, उनले भने, ‘असुरक्षित भएपछि सरुवा मागेको छु ।’

केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिमका डीएसपी सुमित खड्काले आठबीसकोटका निमित्त प्रशासकीय अधिकृतले कुटपिट गरेको भन्दै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएको बताए । जाहेरीपछि वडाध्यक्षलाई पक्राउ गरिएको र संलग्न अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

‘निमित्त प्रशासकीय अधिकृत केसीले आफू कुटिएपछि वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिनुभएको छ र जाहेरीपछि हामीले वडाध्यक्ष केशरमानलाई नियन्त्रणमा लिएर अभियोगबारे अनुसन्धान गरिरहेका छौं’, डीएसपी खड्काले अनलाइनखबरसँग भने ।

कर्मचारी आन्दोलित, काम ठप्प

यो नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच द्वन्द्व रहँदै आएको छ । डेढ वर्षअघि यहाँका एक इन्जिनियर पनि जनप्रतिनिधिबाट कुटिएका थिए ।

एकपछि अर्को आक्रमणका घटना भएपछि यहाँका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरूले निमित्त प्रशासकीय र आइटी अधिकृत कुटपिटमा संलग्नमाथि कारबाही नभएसम्मका लागि बिहीबारदेखि सम्पूर्ण काम ठप्प पार्ने घोषणा गरेका छन् ।

‘नि. प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतजस्तो जिम्मेवार कर्मचारीमाथि गरेको आक्रमणको विरुद्धमा निजहरूलाई कानूनबमोजिम कारबाही नभएसम्मका लागि कर्मचारीको तर्फबाट नगरपालिकामा सम्पादन हुने सम्पूर्ण कामहरू ठप्प हुने भएकाले सेवाग्राहीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौं’, आठबीसकोट नगरपालिका कर्मचारी परिवारकातर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu