सभामुख चयन कार्यतालिका सर्याे
काठमाडौं । संघीय संसदको सभामुख चयन कार्यतालिका सरेको छ । सभामुख चयन गर्न पुस १३ को लागि तय गरिएको कार्यतालिका सत्तारुढ दलले उम्मेदवार एकीनमा गरेको ढिलाईले १४ गतेको लागि सारिएको हो ।
प्रतिनिधिसभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा रिक्त सभामुख पदका लागि निर्वाचन कार्यतालिका तय गरेको हो ।
सभामुखकाे निर्वाचन लागि १४ गते अर्थात् सोमबारको लागि प्रस्ताव गरिएको छ । सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिका अनुसार पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ भने १४ गते निर्वाचन हुनेछ । सदनको निर्देशनुसार संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यतालिका प्रकाशन गर्नुहुने कार्यक्रम छ ।
कार्यतालिका अनुसार १३ गते मनोनयन र १४ गते निर्वाचनको मिति प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । सभामुखको उम्मेदवारी चयन लगायतका विषयमा राजनीतिक परामर्शका लागि यसअघि अधिवेशनको पहिलो बैठकबाट दोस्रो बैठकको अवधि एक साता तोकिएको थियो तर यसबीचमा राजनीतिक दलबीच औपचारिक रूपमा परामर्श भएको छैन । पुस ४ को परामर्श बैठकमा भने पुस ११ मा कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो ।
सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवार उठाउने निश्चित छ । तर संवैधानिक व्यवस्था अनुसार तत्कालीन एमालेबाट उपसभामुख बन्नुभएकी डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा आवश्यक छ । उहाँको राजीनामा सभामुख चयनको कार्यतालिका अघि वा पछि एकीन भइसकेको छैन ।
प्रतिनिधिसभा सचिवालयले भने उपसभामुखले राजीनामा दिएमा ज्येष्ठ सदस्यबाट सञ्चालनका लागि तयारी अवस्थामा राख्ने पनि परामर्श गरिरहेको छ । सचिवालयले सदनका ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट बैठक सञ्चालनका लागि राष्ट्रिय जनता पार्टीमार्फत परामर्श पनि अघि बढाएको छ ।
ठाकुर प्रतिनिधि सभाका ज्येष्ठ सदस्य हुनुहुन्छ । संघीय संसद्को पहिलो अधिवेशनमा सभामुख चयन नभएसम्मका लागि ठाकुरले नै बैठक सञ्चालन गर्नुभएको थियो ।