भ्रमण वर्षकाे शुभारम्भ बर्दियाबाट गरिने
काठमाडौं । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारमा गरिने भएको छ ।
पुस १६ गते बिहान ११ बजे बर्दियाको ठाकुरद्वारमा औपचारिक कार्यक्रम गरी भ्रमण वर्षको शुभारम्भ गरिने भएको हो । त्यसअघि पुस १५ गते नेपालगञ्जबाट राती १२ बजे भ्रमण वर्षको घोषणा गर्ने र बाँके राष्ट्रिय निकुञ्ज परिसरबाट बाँकेको जंगल सफारीको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भव्य बनाउन आवश्यक तयारी गरिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दियाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको छ ।