समाज सभ्य बन्न महिला हिंसाको अन्त्य हुनु पर्छ :उपराष्ट्रपति पुन
काठमाडौं -उपराष्ट्रपति नन्दबहादुर पुनले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने बताउनु भएको छ । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले समाजलाई सभ्य र सुरक्षित बनाउन महिला हिंसाको अन्त्य हुनुपर्ने बताउनु भएको हो ।
‘महिला हिंसाका घटनाको न्यूनीकरण हुन सकिरहेको छैन । यो ज्यादै दुःखको कुरा हो । स–साना बालबालिकाहरुको बलात्कारपछि हत्याका घटना बढिरहेका छन्,’ उहाँले भन्नु भयो , कतिपय घटनाका दोषीहरु कानूनको दायरामा आउन सकिरहेका छैनन् । मानिसमा चेतनाको कमीका कारण हो वा अपराधीको पहिचान र उचित कानुनी कारबाही हुन नसक्दा यस्ता घटना घटिरहेका छन् । यसमा सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’
उपराष्ट्रपति पुनले महिला हिंसाका घटनाले एक्काइसौँ शताब्दीको सभ्य समाजलाई नै गिज्याइरहेको बताउनु भयो । ‘जबसम्म स्कुल गएका छोरीहरु घर फर्कन सक्दैनन् कि, मध्यरातमा कार्यस्थलबाट फर्किरहेका दिदीबहिनीहरु हिंसामा पर्छन कि, घरभित्र रहेका दिदीबहिनीहरु कुटपिट तथा हिंसामा पर्छन् कि भन्ने आशंका गरिरहनुपर्ने अवस्था रहन्छ, तबसम्म हाम्रो समाज सभ्य र सुरक्षित बन्न सक्दैन ।’ उहाँले भन्नु भयो
उपराष्ट्रपति पुनले राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको उल्लेख गर्दै यसप्रति गर्व गरेर बाँकी उपलब्धिहरुका लागि सचेत ढंगले अघि बढ्नुपर्ने बताउनु भयो ।