कर्णाली उत्सव बुधबारदेखि
कर्णाली-कर्णाली उत्सव, कुडा कर्णाली’का भन्ने नाराका साथ यही फागुन २६ देखि २९ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सवको दोस्रो संस्करण सञ्चालन हुँनेभएको छ ।
ऋति फाउण्डेसनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो । गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने उत्सवको प्रारम्भमै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले ‘कर्णाली किन घुम्ने ?’ भन्ने विषयमा प्रवचन दिने छन् । आयोजक संस्था ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमका अनुसार उद्घाटन सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा डा जगतप्रसाद उपाध्यायले कर्णाली चिनाउने योगी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले ‘वीरेन्द्रनगरका वैभव’ विषयमा प्रवचन दिने छन् ।