रूखमा झुण्डिएको अवस्थामा ११ वर्षीया बालिकाको शव फेला
दाङ-दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए।
प्रहरीले सीताको शव भएको स्थानको रातभर सुरक्षा गरी बिहान मात्रै मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि ल्याएको थियो।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ।
घटनास्थलबाट इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झकलप्रसाद शर्माले सीताको आमा अचेतजस्तै रहेको हुँदा सोधपुछ गर्न बाँकी नै रहेको बताउनु भयो । उहाँले सीताको बुवा मञ्जिल विक रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको खुल्न आएको बताउनु भयो ।
सीता भन्दा मुनि एउटा सानो भाइ र एउटा १४ वर्षीया दिदी पनि रहेको प्रहरी प्रवक्ता शर्माले जानकारी दिनु भयो ।बेलुका ८ बजेतिर खाना खान समय भइसक्दा पनि सीता कतै नदेखिएपछि उनको खोजी घर परिवारले सुरू गरेको थियो।
छिमेकीको घरमा घर सराइ रहेको हुँदा सीता त्यहीँ गएको हुन सक्ने आशंकामा आमा छिमेकीको घरमा समेत खोज्न जाँदा समेत फेला नपरेपछि खोज्ने क्रममा सीता घर पछाडिको रूखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता शर्माले जानकारी दिनु भयो ।
स्रोतका अनुसार सीताले शिवरात्रिका दिन स्थानीय मन्दिरमा लाग्ने मेलामा जान खोजेको पाइएको छ। तर, आमाले उहाँलाई मेलामा जान रोक्नु भएको थियो । त्यही कारण सीताले आत्महत्याको गलत बाटो रोजेको हुन सक्ने आशंका भइरहेको स्रोतले बताएको छ।
घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ। विक गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुन्थ्यो ।