कांग्रेस पनि ‘ताजा जनादेश’कै पक्षमा
काठमाडौं – पुनर्स्थापित संसद्ले काम गर्न नसकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा चुनावमा जाने प्रस्ताव गरेको अर्को दिन संसद्को प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि ताजा जनादेशकै पक्षमा देखिएको छ । राष्ट्रपतिले मंगलबार बोलाएको सर्वदलीय बैठकमा भने कांग्रेस सभापति शेरबहादुर देउवा बोल्नु भएको थिएन । वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले भने संसद् फेरि विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको प्रस्तावमा आपत्ति जनाउनु भएको थियो ।
सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेको एक महिना नपुग्दै प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच चुनावी एजेन्डामा एकरूपता देखिएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन सरकारको पहल भए पनि त्यसबारे ठोस निष्कर्षमा पुग्न नसकिरहेका वेला कांग्रेसले ताजा जनादेशलाई अघि सारेको हो । पार्टीका नेता कार्यकर्ता, माओवादी केन्द्र र जसपाले समेत ओलीको विकल्पमा अग्रसरता लिन आग्रह गर्दा पनि सभापति देउवाले ठोस पहल थालेका छैनन् ।
तर, देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य रमेश लेखकले एमाले र जसपाभित्र सरकार गठनका विषयमा फरक–फरक मत रहेको र बहुमतको सरकार बन्न सक्ने अवस्था नभएकाले ताजा जनादेशको विकल्प नरहेको बताउनु भयो । ‘पार्टीहरूको आन्तरिक द्वन्द्व संसद्मा आएको छ, यस्तो अवस्थामा संसद् कसरी गतिशील हुन सक्छ रु न त यसले वैकल्पिक सरकार दिन सक्छ, न त स्थिरता र विकास नै,’ , ‘त्यसैले मुलुकलाई निकास र संसद्लाई गतिशील बनाउन ताजा जनादेशमा जानुको विकल्प छैन । अन्यथा संसदीय व्यवस्था नै गलत हो भन्ने सोचलाई बल पुग्न सक्छ ।’
उहाँले सत्तारुढ दल विभाजित अवस्थामा पुनस्र्थापित प्रतिनिधिसभाले स्थिरता र निकास दिन नसक्ने दाबी गर्नु भयो । ‘प्रतिनिधिसभामा ६४ प्रतिशत मत भएको दल अहिले औपचारिक रूपमा दुईवटा भएको छ र अनौपचारिक रूपमा तीनवटा भएको देखिन्छ, जब कि ६४ प्रतिशत मत भएको दलले नै स्थिरता दिन सकेन भने अब त्रिशंकु अवस्थामा पुगेको प्रतिनिधिसभाले कसरी स्थिरता दिन सक्छ रु’ लेखकले भन्नु भयो , ‘त्यसैले यसले धेरै काम गर्न सक्छ जस्तो मलाई लाग्दैन, निकासको बाटो भनेको ‘अर्ली इलेक्सन’ नै हो ।’
तर, कांग्रेसभित्र यो मुद्दामा एकरूपता छैन । कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले संविधानको त्यही व्यवस्थाबमोजिम कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने बताउनु भयो । ‘मुलुकको निकासको अन्तिम विकल्प भनेकै निर्वाचन हो । अब निर्वाचनमुखी सरकार निर्माण हुनुपर्छ, कांग्रेस निर्वाचनमुखी सरकारको पक्षमा छ,’ कोइरालाले भन्नु भयो ।
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अहिलेको अवस्थामा जे–जे भए पनि ओलीको विकल्प खोज्नु पहिलो सर्त हुनुपर्ने बताए । ‘ओलीको नेतृत्वमा चुनावमा जान सकिँदैन, त्यो उहाँलाई धाँधली गर्न सजिलो बनाउने कुरा मात्रै हो । त्यसैले संकटको गाँठो फुकाउनका लागि उत्तम विकल्प भनेको त निर्वाचन नै हो । तर, पहिले ओलीको विकल्प खोज्नुपर्छ, त्यसका लागि कांग्रेसले आफ्नै नेतृत्व हुनुपर्ने अडान लिनुहुन्नँ, अरूलाई दिन पनि तयार हुनुपर्छ,’ पौडेलले भन्नु भयो । नयाँ पत्रिका