Connect with us
Kapilvast Forest

कोरोनाले बनायो कृषि व्यवसायी

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

दाङ-दाङको घोराही उपमहानगरपालिका -१५ रतनपुर निवासी अमर अधिकारी व्यावसायिक रुपमा कृषि र पशुपालनमा लाग्नुभएको छ । अधिकारीले मेट्रो कृषि फर्म दर्ता गरेर आठ महिनाअघिदेखि घोराही-५ धर्ना (धारपानी)मा व्यावसायिक रुपमा भैंँसी पाल्न शुरु गर्नुभएको छ ।

उहाँले रु पाँच लाखका लगानीमा तीन भैंसीबाट शुरु गरेको व्यावसायिक फर्ममा अहिले २० दुहुना भैँसी छन् भने लगानी बढेर रु २५ लाख पुगेको छ । बिहान १७० र बेलुका ८० लिटर दूध उत्पादन हुने छ । उत्पादित दूध घोराही बजारमा आफैँले अटोरिक्सामा राखेर पु¥याउने गरेको उहाँले बताउनुभयो । बजारमा प्रतिलि रु ८० बिक्री हुन्छ । परम्परागत तरिकाले भैंसी पालेर दूध बेच्दा दुःखअनुसारको फाइदा नहुने भएकाले व्यवसायलाई व्यवस्थित गर्दै लैजानुपरेको उहाँ बताउनुहुन्छ ।

कृषक अधिकारीले १२ कठ्ठा आफ्नो जग्गामा दुई भंैसीलाई गोठ बनाउनुभएको छ । वार्षिक रु ४५ हजारमा भाडा दिने शर्तमा दुई बिघा जग्गा लिनुभएको छ । त्यसमा प्राङ्गारिक तरकारी खेती गर्नलाई उहाँले तयारी गर्नुभएको छ ।

गत चैतदेखि कोभिड –१९ का कारण लकडाउन भयो, सबैलाई खानाको समस्या परेको देखेर घोराहीमा सुविधा दिनलाई घोराही बजारका साथीहरु मिलेर ‘एक कल समस्या हल’नामको संस्था खोलेर घरघरमा तरकारी र दूध पु¥याउने काम गर्दा बजारमा दूधको चरम अभाव भयो । तरकारी त किसानको बारीबाट ल्याउने र उपभोक्तालाई घरघरमा लगेर वितरण गरियो । उहाँले दूधका लागि भैंसीपालनका साथै पछिल्लो समयमा प्राङ्गारिक तरकारी खेती पनि थाल्नुभएको छ ।

“देउखुरीमा तरबुजा त फल्छ, दाङमा यसपालि विचार गर्नलाई खेती गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “लौका, काँक्रा, भिण्डी, करेला आदि तरकारी पनि रोप्न थालेका छाँैं ।” भैंसीको गोबर मलका रुपमा प्रयोग गरेर स्वस्थ्य र प्राङ्गारिक तरकारीका लागि व्यावसायिक खेतीमा लागेको अधिकारी बताउनुहुन्छ । तीन स्थानीयवासीलाई रोजगारी पनि मिलेको छ । आफ्नै गाउँघरमा परिवारसँंग बसेर काम गर्न पाउँदा आनन्द मिलेको र सानोठूलो नभनी आफ्नै ठाउँमा काम गर्नुपर्छ भन्ने मान्यता राखेर स्थानीयवासीलाई रोजगारी दिने गरेको अधिकारीले बताउनुभयो ।

प्राङ्गारिक खेती प्रणालीमा वातावरण, पर्यावरण र मानव स्वास्थ्यलाई हानि पु¥याउने खालका हानिकारक रासायनिक मल र विषादीको प्रयोग गरिँदैन । यस्तो प्रविधिमा गाईवस्तुको मल, झार र बाली काटेपछि रहेका डाँठ, भान्साबाट निस्केका कुहिने फोहर कुहाएर बनाइएको प्राङ्गारिक र हरियो मल तथा जैविक विषादिहरुको प्रयोग गर्न प्रोत्साहन गरिन्छ । कुनै पनि विषादी प्रयोग नगरी प्राकृतिक तरिकाको प्राङ्गारिक तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्ने अधिकारीको सोचाइ छ ।

उहाँले भंैसीको हेरचाह र दानापानी खुवाउनका लागि देउखुरीका चार युवालाई रोजगार दिनुभएको छ । काम गर्न अर्काको भूमिमा जानुभन्दा सानो भए पनि आफ्नै भूमिमा काम पाउँदा खुशी मिलेको उक्त फर्ममा कार्यरत राम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “कस्तो भैंसीले कति दूध दिन्छ भन्ने पनि अब त सबै जानकारी छ ।”

रुकुम बाँफिकोट गाउँपालिका–२ बाट दाङमा व्यवसाय गर्ने उद्देश्यले बसाइँ सरेर आउनुभएका धनीराम कुसारीले घोराही–१७ गैरागाउँमा चार वर्षदेखि व्यावसायिक कृषि फर्म चलाउनुभएको छ । दुई बिघा जमीन वार्षिक रु डेढ लाखमा भाडामा लिनुभएको छ । पाँच उन्नत जातका गाईबाट व्यवसाय शुरु गर्नुभएका कुसारीसँंग अहिले सात दुहुना गाई र १४ भैँसी छन् । उहाँ अहिले दैनिक २५० लिटर दूध उत्पादन गर्नुहुन्छ । उत्पादित दूध घोराही र आसपासका बजारमा प्रतिलि रु ८० मा बिक्री हुन्छ । मासिक रु चार लाख ५० हजार आम्दानी हुने गरेको कुसारी बताउनुहुन्छ । कर्जामा शुरु गरिएको व्यवसायले स्वरोजगार हुन पाएकामा उहाँ खुशी हुनुहुन्छ ।

उहाँले भंैसीको हेरचाह र दानापानी खुवाउनका लागि दुई युवालाई रोजगारी दिनुभएको छ । घरपरिवारका चार जनाले उहाँलाई सहयोग गर्छन् । “दुईचार रुपियाँ कमाउन अर्काको भूमिमा जानुभन्दा सानो भए पनि आफ्नै भूमिमा व्यवसाय गर्न पाउँदा धेरै खुशी भएको छु”, उहाँले भन्नुभयो, “राम्रो काम गरेको भएर घोराही उपमहानगरपालिकाको ४३ आँै स्थापना दिवसमा उत्कृष्ट व्यवसायी भनेर पुरस्कार पाउँदा अझै काम गर्ने हौसला मिलेको छ ।”

स्थानीय तहले दुः ख गरेको मानिसको उच्च मूल्याङ्कन गरेकामा धेरै खुशी लागेको उहाँ बताउनुहुन्छ । “कसैको सहयोग पाएको थिइन तर यस वर्ष उपमहानगरपालिकाले काम गर्नलाई हौसला दिएको छ । आगामी दिनमा व्यवसायलाई अझै व्यवस्थित गराउने सोचाइ छ”, उहाँले भन्नुभयो ।

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख जीवराज पौडेल दाङमा पछिल्लो समय भँैसी व्यवसायी बढेको बताउनुहुन्छ । निर्वाहमुखीभन्दा व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढेको उहाँको भनाइ छ । महिनाको रु २५-३० हजार कमाउन विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा सानो भए पनि व्यवसाय गर्नमा सहयोग पुगोस् भनेर कार्यालयले सहयोेग गरेको छ ।

उपमहानगरपालिकाले दुग्ध किसानलाई ५० प्रतिशत अनुदानमा विभिन्न सहयोगी सामग्री वितरण गरिरहेको छ । यस वर्ष किसानको मागका आधारमा च्यापकटर र मिल्क क्यान वितरण गरिएको उहाँले जानकारी दिनुभयो । अन्य प्राविधिक सरसल्लाह कार्यालयमा सम्पर्क गरेमा जुनसुकै बेला दिन तयार रहेको प्रमुख पौडेल बताउनुहुन्छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा वेदवहादुर केसीले दाङमा पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने बढेको बताउनुभयो । उहाँका अनुसार युवाहरु विदेशी भूमिमा काम गर्नुभन्दा स्वदेशमै लगानी गरी काम गर्नु धेरै राम्रो हो । किसानलाई पशु सेवा केन्द्रले परामर्श र औषधोपचारका लागि सहयोग गरेको छ । पशुमा लाग्ने रोग र अन्य परामर्शका लागि किसानले कार्यालयमा सम्पर्क गरेमा सेवा दिन सधैंँ तयार रहेको उहाँले बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu