सुरु भयो होली
काठमाडौं-काठमाण्डाैको हनुमानढोका वसन्तपुरमा चीर ठड्याइएसँगै यो वर्षको होली पर्व सुरु भएको छ। आज बिहान ८ बजे २६ मिनेटको साइतमा वसन्तपुरमा विधिवत् चीर ठड्याइएको हो।
प्रत्येक वर्ष फागुनशुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष बढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्।
तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ । यस वर्षको होली काठमाण्डौलगायत पहाडी जिल्लाहरूमा चैत १५ र तराई-मधेशका जिल्लाहरूमा चैत १६ मा परेको छ ।सरकारले होली पर्व मनाउन सार्वजनिक बिदा दिँदै आएको छ।
त्यस्तै कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताउनुभयो । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भन्नुभयो , “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”
होली देउडा अष्टमीदेखि शुरु गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताउनुभयो । “
टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र लम्विनी प्रदेश का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् ।
सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ ।