Connect with us
Kapilvast Forest

कोरोना कहरले रोजगारी छाडेर घर फर्किँदै सुदूरपश्चिमेली

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

 

डोटी- पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आ–आफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका अनुसार पाँच दिनको अवधिमा भारतबाट आएका ११ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण रोजागारी छाडेर आउनेहरु सिधै गाउँ पस्न थालेका कारण यहाँका गाउँघरमा पुनः कोरोना सङ्क्रमण फैलिने भन्दै स्थानीय प्रशासनले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका छन् । उता गृह मन्त्रालयले समेत क्वारेन्टिन तयारी अवस्थामा राख्न निर्देशनसहितको पत्राचार गरेसँगै यहाँका स्थानीय तहमा सबैले क्वारेन्टिन निर्माणका लागि तयारी गर्न थालेको सुदूरपश्चिम गाउँपालिका अध्यक्ष महासङ्घ तथा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

कोरोना जोखिमबाट बच्नका लागि सम्पूर्ण तयारी र सावधानी अपनाउनका लागि यहाँका स्थानीय तहलाई स्थानीय प्रशासनले आग्रहसमेत गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट सुदूरपश्चिम अर्थात घर फर्किनेको सीमा नाकामा भीडभाड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । अहिले यहाँका सीमा नाकाबाट दैनिक सयौँैँको सङ्ख्यामा सुदूरपश्चिमेली भित्रिन थालेका छन् । रोजगारीका लागि भारत गएका स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण फैलिने जोखिम बढेकाले सावधानीका लागि सबै तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमामा घर फर्किनेको क्रम बढेको छ, कोरोना जोखिम नबढोस् भनेर हामीले सबै सावधानी अपाउनुका साथै स्वास्थ्य जाँचमा पनि निकै ध्यान दिएका छौँ ।” भारतमा कोरोना सङ्क्रमण पुनः देखिएसँगै सुदूरपश्चिमेलीको प्रमुख पर्व बिशु नजिकिँदै आएकाले पनि अहिले रोजगारी गरी घर फर्किनेको सङ्ख्या बढेको पाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट नेपाल आएका सबै नागरिक कोरोना त्रासले आएका होइनन्, अधिकांश बिशु पर्व मनाउन आएका पनि छन्, घर आउँदै गरेकासँग कोरोना जोखिम हुनसक्ने भएकाले हामीले सीमाक्षेत्रमा स्वास्थ्य जाँचदेखि अन्य कुरामा ध्यान दिन आफू मातहतका निकायलाई निर्देशन दिएका छौँ ।”

उहाँका अनुसार कञ्चनपुरको त्रिनगर र गड्डाचौकी नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी हाराहारीमा नेपाली नेपाल प्रवेश गरिरहेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार यी दुई नाकाबाट विगत १० दिनको अवधिमा कम्तीमा पनि आठ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । भारतबाट फर्किका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले भारतसँग सीमा जोडिएका चार जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको जनाएको छ । कञ्चनपुरको गड्डाचौकी, त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएका हेल्थ डेस्कमार्फत एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

भारतबाट स्वदेश फर्किने सबैको सीमा नाकामा स्वास्थ्य परीक्षण हुन नसकेको भारतबाट घर फर्किएका डोटीका दीर्घबहादुर कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा नाकामा हेल्थ डेस्क स्थापना भएको छ तर खासै त्यहाँ स्वास्थ्य जाँच गरिँदैन । सामान्य ज्वरो मापन गरेर घर पठाउन थालेका छन्, कोरोना जाँचसम्बन्धी कुनै परीक्षण नहुँदा समस्या भएको छ ।”

भारतबाट फर्किनेहरूको परीक्षण गर्न सम्बन्धित स्थानीय तहलाई एन्टिजेन पठाइएको प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमा नाकामा सबैको एक–एक गरी स्वास्थ्य जाँच गर्न केही असहज भएका कारण सम्बन्धित स्थानीय तहले जाँच गर्ने गरी एन्टिजेन पठाइएको छ, भारतबाट आएकाहरुको सम्बन्धित स्थानीय तहमा स्वास्थ्य जाँच हुनेछ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu