Connect with us
Kapilvast Forest

सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं – ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको उचाइमा पुगेर बेपत्ता भए । जिएल मालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा भेटियो भने एन्ड्र्यु अरभिनको शव अहिलेसम्म बेपत्ता छ । सगरमाथामा अहिलेसम्म तीन सय ५० को मृत्यु भएको छ, जसमध्ये करिब तीन सय शव हिउँमै रहेको अनुमान छ । सगरमाथासहित अन्य ६ हिमालमा रहेका शव र फोहोर संकलन गर्न नेपाली सेनाले डेढमहिने अभियान सञ्चालन गर्दै छ । यसपटक ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ ।

सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली परिचालन हुँदै छ । जसमा ३८ जना सैनिक र बाँकी गैरसैनिक हुन् । सगरमाथा, पुमरी र ल्होत्से हिमालका लागि एउटा र मकालु, धौलागिरि तथा अमादब्लम हिमालका लागि अर्को टोली खटिनेछ । उनीहरूले २ वैशाखदेखि १५ जेठसम्म फोहोर संकलन गर्नेछन् ।

सगरमाथा क्षेत्रमा मात्रै एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ । सेनाका अनुसार सगरमाथा क्षेत्रबाट मात्रै तीन सयभन्दा बढी आरोहीको शव निकाल्न बाँकी छ । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भन्नु भयो अहिलेसम्म आरोहणका क्रममा तीन सय ५० जना जतिको मृत्यु भएको अनुमान गरिएको बताउनु भयो  ।

सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए । त्यो फोहोर गोरक्ष क्षेत्रमा ठूलो खाल्टो खनेर पुरिएको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाले बताए । त्यस्तै, ०७६ वैशाख र जेठमा सेनाले पनि सगरमाथासहितका हिमालबाट ११ हजार किलो फोहोर र चारवटा शव संकलन गरेको थियो ।

सगरमाथा र ल्होत्सेबाट १७ टन, मकालु, आमादब्लम र धौलागिरिबाट पाँच–पाँच टन तथा पुमोरीबाट तीन टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ । अभियानको तयारीका लागि सेनाले १ चैतदेखि मुस्ताङको कैसाङमा रहेको उच्च शिखर शिक्षालयमा जलवायु अनुकूलन तालिम दिइरहेको छ । २६ चैतसम्म तालिम चल्नेछ ।

अभियानमा खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ । संकलित नसड्ने फोहोर सगरमाथा क्षेत्रको नाम्चे, मकालु–वरुण क्षेत्रको नुम र धौलागिरि क्षेत्रको जोमसोमबाट हवाई साधन र मोटरबाटो हुँदै काठमाडौं ल्याइनेछ ।

‘हिमालय क्षेत्रको प्रदूषण नियन्त्रण गर्न, जलवायु परिवर्तनको असर कम गर्न, हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भन्नु भयो, ‘यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।’

सफाइ अभियानका लागि १२ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने सेनाको प्रारम्भिक अनुमान छ । सैनिक तथा निजी क्षेत्रका हेलिकोप्टरका लागि ७९ लाख ६८ हजार, हिमाल सफाइमा जाने शेर्पालगायतका लागि आठ करोड ६४ लाख ५८ हजार, लत्ता–कपडाका लागि एक करोड ३६ लाख ४४ हजार, सैनिकहरूलाई भत्तालगायतका लागि पौने दुई करोड खर्च हुने सेनाको प्रारम्भिक मूल्यांकन छ । बजेटको व्यवस्थापन पर्यटन विभागले गरेको हो । नयाँ पत्रिका

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu