संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छ : सांसद पण्डित
काठमाडौं – नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् ।प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए ।
‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि पनि प्रश्न उठ्छ’ उनले भने, ‘सरकारमाथि मात्र प्रश्न उठ्दैन ।’संसदमा आएका विधेयक र सन्धि सम्झौताहरु अगाडि बढाउन कुन पार्टी र कुन मन्त्रीले रोकेको छ भन्दै सांसद पण्डितले कुनै बाधा अवरोध भए संसदलाई जानकारी गराउन आग्रह गरे ।
‘एकतर्फी रुपमा सरकारले काम दिएन, संसदको काम छैन, जनताका समस्या सरकारले बुझ्न सकेन भन्यो भने के हुन्छ, पूर्वाग्रह भन्दा केही हुँदैन’ उनले भने ।
संसदको अगुवाइ कुशलतापूर्वक भएन भने प्रधानमन्त्री र मन्त्रीलाई दोष लगाएर उम्किन नमिल्ने सांसद पण्डितले बताए ।‘त्यसैले ठोस कदम चाल्न, विधेयक अगाडि बढाउन, सन्धि सम्झौताका प्रस्ताव अगाडि बढाउनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु’ उनले भने, ‘यसमा सभामुखको विशेष भूमिका चाहन्छु ।’