कृषकलाई २५० मौरी घार वितरण
गुल्मी -गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ८ र ९ सञ्चालित मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई २५० मौरी घार वितरण गरिएको छ ।
लुम्बिनी प्रदेश र मुसीकोट नगरपालिकाको साझेदारीमा सञ्चालित कुल ६० लाख लागत अनुमानका मौरीघार वितरण गरिएको हो । एक स्थानीय तह एक स्मार्ट कृषि गाउँअन्तर्गत यो कार्यक्रम मुसीकोटमा सञ्चालन भइरहेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभासद् खड्ग केसीले मौरी स्मार्ट कार्यक्रमले मुसीकोट नगरपालिका महमा आत्मनिर्भर हुने विश्वास व्यक्त गर्नु भयो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कृषिको माध्यमबाट व्यावसायिक उद्यमी उत्पादनसँगै कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा, कृषि ज्ञान केन्द्र गुल्मीका कोमल शाही, गुणनिधि पाण्डे, खुबिराम पोखरेल, कृषक, सामाजिक व्यक्तित्वलगायतको उपस्थिति थियो ।