हेटाैँडा-परवानीपुर ६६ के.भी डबल सर्किट प्रसारण लाइन ३६ घण्टा सटडाउन
बारा – परवानीपुर ६६ के.भी डबल सर्किट लाइनको टावर नम्बर २८३ देखि २८४ को बीचमा नयाँ टावर थप्ने काम आजदेखि सुरु हुने भएको छ ।टावर थप्ने र कन्डक्टर तान्ने काम गर्नका लागि आज बिहान ६ बजेदेखि भोलि बेलुका ६ बजेसम्मका लागि लाइन सटडाउन गरिएको छ । ६६ केभी प्रशारण लाइन क्षमता अभिवृद्धिका लागि काम गर्न लगातार ३६ घण्टा लाइन बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
भोलि बेलुका ६ बजेसम्ममा पनि काम गर्न नसकिए प्रसारण लाइनको सटडाउन अवधि थपिन सक्नेसमेत प्राधिकरणले विज्ञप्ति निकालेर जनाएको छ । यो प्रसारण लाइन बन्द हुँदा अरु क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
प्रसारण लाइन बन्द हुँदा जगदम्बा फ्याक्ट्री, हामा स्टिल र हुलास स्टिल फ्याक्ट्रीमा पूरै समय विद्युत आपूर्ति बन्द हुनेछ । यस्तै आज भक्तपुर वितरण केन्द्रको नगरकोट फिडरअन्तर्गत पर्ने खरिपाटी मुहानपोखरी नजिक झोलुङ्गेपुलको साइटमा रहेको एच.टी. लाइन मर्मतको काम हुँदैछ ।
मर्मतको काम गर्नुपर्ने भएकाले मुहानपोखरीदेखि नगरकोटक्षेत्रसम्म आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।