लुम्बिनीमा चार सांसद पदमुक्त गरिएकाेप्रति पूर्वराजपा समूह असन्तुष्ट
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा चार सांसदलाई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले जसपाका सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र लुम्बिनी प्रदेशका सभामुखलाई पठाउनुभएको छ ।
लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाउनुभएको हो ।
ठाकुरले प्रदेश सभामा पठाउनुभएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारबाही नभएको जनाउनुभएकाे छ । ‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भइ जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भइ कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।
नेता लक्ष्मणलाल कर्णले प्रदेश सभा सदस्यलाई कारबाही गर्नेबारे कुनै छलफल नभएको बताउनुभएको छ । ठाकुर र कर्ण पूर्वराजपा समूहका हुन् ।बिहीवार लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो ।
सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर (९१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् । उनीहरू चारै जना केही दिनअघि मात्रै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए ।
प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको थियाे । पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूले लुम्बिनी प्रदेशको मन्त्री बनेर शपथ ग्रहण गरेका थिए ।