प्रधानमन्त्रीओलीलाई जसपाको मत
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा पुगेको हो ।
जसपा कार्यकारिणी समिति सदस्य केशव झाले ओलीलाई विश्वासको मत दिने प्रस्ट पार्नु भयो । तर, आफूहरूले उठाउँदै आएको माग सम्बोधन गरेपछि मात्रै विश्वासको मत दिने सर्तअघि सारिएको उहाँले बताउनु भयो ।
‘हामीले उठाउँदै आएको केही माग पूरा भएको र केही पूरा हुने प्रक्रियामा छ, ती माग सम्बोधन भएपछि पार्टी निर्णयपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिन सक्छौं,’ झाले भन्नु भयो , ‘पार्टी बैठक बसेरै यस विषयमा छलफल गरेर ठोस निर्णय गर्छौं ।’
प्रधानमन्त्री ओलीले केही समयअघि जसपाले उठाउँदै आएको मुद्दा फिर्ता माग मन्त्रिपरिषद् बैठकबाटै सम्बोधन गरिसक्नुभएको छ । केही मुद्दा फिर्ता प्रक्रियामा रहेको जसपाले जनाएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले समेत सार्वजनिक रूपमै आफ्ना माग सम्बोधन भए सरकारलाई समर्थन गर्न सकिने प्रतिक्रिया व्यक्त गर्दै आउनु भएको छ । माग सम्बोधन भएपछि सरकारमा सहभागी हुने वातावरण बन्दै गएको छ ।
यद्यपि, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई समूह ओली सरकारलाई समर्थन नदिने अडानमा रहनु भएको छ । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन र सरकारमै जसपा नेता सहभागीदेखि संघीय सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टीभित्र दुई समूह निर्माण भएको छ ।
‘सरकारमा सहभागी हुने कि नहुने ’ भन्ने विषयमा विवाद उत्कर्षमा पुगेकै बेला पार्टी नै विभाजन हुने स्रोत बताउछ । ठाकुर, महतो समूह ओली सरकारप्रति सकारात्मक र यादव, भट्टराई, राई समूह विपक्षमा उभिएपछि पार्टी विवाद बढ्दै गएको छ । समाचार आजको राजधानी दैनिकमा छ ।