Connect with us
Kapilvast Forest

साढे ४ लाख नेपाली रोजगारी गुमाएर फर्किए

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

bidesh-varman.jpg

काठमाडौं- कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।

केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मलेसियाबाट ४८ हजार ४ सय ३५, साउदी अरबबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्किएका छन्।

सिंगापुरबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मकाउबाट ३ हजार १ सय ६४ जना छन्। बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र माल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परिस्थितिका कारण स्वदेश फर्किएका हुन्।

 

भारतबाट विभिन्न नाका हुँदै करिब ७ लाख नेपाली स्वदेश फर्किएको भनिए पनि यो तथ्यांकमा समेटिएको छैन। कोभिडयता नियमित अवस्थामा कति कामदार फर्किए भन्ने यकिन तथ्यांक छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीबाट फर्किनेको तथ्यांक राख्ने पहल थाले पनि त्यो अझै प्रभावकारी हुन सकेको छैन।

वैदेशिक रोजगार बोर्डले गत वर्ष खाडी र मलेसियामा कोरोनाका कारण ४ लाख ७ हजार कामदार प्रभावित भएको सार्वजनिक गरेको थियो। भारतसहित खाडी मुलुकमा ३१ लाख श्रमिक कार्यरत रहेको अध्ययनले देखाएको छ। श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ५४ लाख ९६ हजार ४ सय ६० पुगेको छ। खाडी र मलेसियामा मात्रै १३ लाख ४८ हजार ८ सय ७२ जना कार्यरत रहेको तथ्यांक छ।

कोरोना भाइरसको दोस्रो लहरले वैदेशिक रोजगार प्रभावित भएको छ। पछिल्लो समयमा निशेधाज्ञासहित हवाई उडानसमेत बन्द गरिएका छन्। नेपालमा दोस्रो लहर सुरु हुनुअघि वैदेशिक रोजगार सहज हुन थाले पनि पछिल्लो समयमा प्रभावित बन्न पुगेको छ।

सरकारले चालू आर्थिक वर्ष ७ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो। तर, रोजगारी सिर्जना हुने कुनै कार्यक्रम अघि बढाइएको छैन। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई सय दिने रोजगारी दिने घोषणा गरिए पनि प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। अन्य रोजगारीका सिर्जनाका कुनै पनि पहल थालिएको छैन।

विभागका अनुसार कोभिड–१९ यता १ लाख श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना नहुनु, वैदेशिक रोजगारमा जान नपाउनु तथा वैदेशिक रोजगारबाट फर्किने क्रम बढेसँगै रोजगारीमा असन्तुलन पैदा भएको छ।

श्रमविज्ञ डा।गणेश गुरुङ सरकारले रोजगारी सिर्जना गर्न ध्यान नदिएको बताउँछन्। कोभिडपछि धेरै भारतीय श्रमिक पलायन भएकाले उनीहरूको ठाउँमा विदेशबाट फर्केकालाई अवसर दिन ढिलाइ गर्न नहुने डा। गुरुङको सुझाव छ। ‘विदेशमा जे काम गरेको छ, यहाँ पनि त्यही प्रकृतिको काम दिनुपर्छ’, उनी भन्छन्। कोभिडको दोस्रो लहरले वैदेशिक रोजगार तहसनहस हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ।

वैदेशिक रोजगारीबाट ८ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ। यसले कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशतभन्दा बढी योगदान दिएको छ। केही वर्षअघि वैदेशिक रोजगारीले कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशतभन्दा बढी हिस्सा ओगटे पनि पछिल्लो समयमा खुम्चिँदै गएको छ।आजको अन्नपुर्ण पोष्टबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu